विदेश र बाध्यता : कसको जिम्मेवारी ?
![](https://www.nepalpress.com/wp-content/uploads/2023/12/nita-raut.jpg)
विदेश मोह, रहर कि बाध्यता ? यो विषय बेलाबखत बहसमा आउने गरेको छ । विदेश हरेक व्यक्ति आफू बसेको ठाउँभन्दा पर वा टाढाको देश । आफूविनाको देश भएर नै त विदेश । अनेक उद्देश्यले देश छाडेर छानिने गन्तव्य नै विदेश हो । त्यसो त विदेश मोहको कथा नेपालमा मात्र सीमित छैन । नेपालीको आँखाले सम्पन्न र धनी ठानिएको देशका नागरिक पनि अर्काे मुलुकमा पुग्ने गरेका छन् । फरक यति हो नेपालीहरुको विदेश मोह अन्य देशका नागरिकको तुलनामा बढी छ । नूनदेखि सुनसम्मका लागि उत्तरतर्फ भोट जाने र दक्षिण पश्चिमतर्फ पाकिस्तानको लाहोर र मलाया जाने चलनले नेपाली इतिहासमा विदेशका सम्बन्ध साइनो भेटिन्छ ।
कामका लागि परदेशिने इतिहासलाई उच्च शिक्षाको लागि देश छोड्ने अभ्यासपश्चात नयाँ अवस्था निर्माण भयो । शिक्षा र रोजगारीका लागि बाहिरिने क्रम बढ्यो । यद्यपि केही वर्ष अघिसम्म पनि विदेश पुग्ने नेपालीको संख्या कमै थियो । उच्च शिक्षाका लागि बाहिरिने विद्यार्थीको चाप बढ्नु र सूचना प्रविधिको विकासले साँघुरिँदै गएको विश्वमा नेपाली विद्यार्थीको बढ्दो चापले नयाँ अवस्था निर्माण गरेको छ । विद्यालय तहको शिक्षा पूरा गरेपछि उच्च शिक्षाको लागि जिल्ला सदरमुकाम वा राजधानीलाई गन्तव्यको रुपमा छान्ने काम नेपालमा औपचारिक शिक्षाको विकास क्रमको विस्तारसँगै भएको हो । अहिले यो क्रम विदेशतिर तेर्सिएको छ ।
विद्यालय शिक्षा पूरा गरेपछि रोजगारीको लागि तेस्रो मुलुकमा जाने क्रम यतिसम्म बढ्यो कि क्याम्पस तह अध्ययन गर्ने विद्यार्थी नपाएर विश्वविद्यालय र सम्बन्धन प्राप्त क्याम्पसहरु बन्द हुने अवस्था सिर्जना भएको छ । कथंकदाचित विद्यालय शिक्षापछि विदेशको मेसो मिलेन भने पनि स्नातकसरहको कक्षा पास गरेपछि त नेपालमा रोकिने सम्भावना नै देख्दैन अहिलेका युवा जमात । स्तरीय पढाइ हुनेको छनोट स्तरीय र मध्यम हुनेको मध्यम देश तथा पढाइमा ध्यान नदिनेको छनोट मजदुरीका लागि भए पनि परदेश । यसरी रित्तिँदै छ देश । विदेश मोहको यो कथामा युवाहरुको सौख वा देखासिखी मात्र छ कि बाध्यता पनि ? अहिले नीति निर्माण तहमा घोत्लिनु पर्ने विषय यही हो ।
आर्थिक रुपमा क्रमशः धराशायी बन्दै गएको हाम्रो मुलुकमा रोजगारीको सम्भावना करिब करिब अन्त्य भैसकेको छ । राजनीतिक नेतृत्वले विदेशमा हुने युवा पलायन रोक्ने भाषण जतिसुकै ठूलो स्वरमा फलाके पनि त्यसको स्पष्ट खाका प्रस्तुत गर्न नसक्दा यो क्रम घट्नुको सट्टा बढ्दै गएको छ ।
आर्थिक रुपमा क्रमशः धराशायी बन्दै गएको हाम्रो मुलुकमा रोजगारीको सम्भावना करिब करिब अन्त्य भैसकेको छ । राजनीतिक नेतृत्वले विदेशमा हुने युवा पलायन रोक्ने भाषण जतिसुकै ठूलो स्वरमा फलाके पनि त्यसको स्पष्ट खाका प्रस्तुत गर्न नसक्दा यो क्रम घट्नुको सट्टा बढ्दै गएको छ । भावनात्मक रुपमा युवाहरुलाई उनीहरुको एजेण्डासहितको प्रतिनिधित्व गरिदिने कोही त छ भन्ने अनुभूति दिलाउन नसक्नु नै नेतृत्वको गम्भीर कमजोरी भएको छ । न भावनात्मक रुपमा भरोसा दिन सकेको छ न त अनुभूति दिलाउने गरी सुधारको प्रयास । यस्तो असहज अवस्थाले उनीहरुमा निरासा, अन्योल र छटपटीमात्रै बढाएको स्पष्टै देख्न सकिन्छ ।
राजनीतिक परिवर्तनपश्चात विद्यमान व्यवस्थामा जनताको भावनाअनुसारको संविधान र संविधानको परिकल्पनाअनुसारको तीन तहको सरकार छ । स्थानीय, प्रदेश र संघीय सरकारले नागरिकका अपेक्षालाई साकार पार्ने संकल्पअनुसार जुटिरहेको अवस्था छ । तर, तीनै तहको सरकारले विदेशमा हुने युवा पलायन रोक्न र नागरिकमा आशा जगाउन कुनै ठोस कार्यक्रम र योजना ल्याएको देखिँदैन । कोही युवा आफ्नै देशमा, आफ्नै जन्मथलोमा केही उद्योग, व्यवसाय गर्छु भन्यो भने सरकारले उसलाई सहयोग गर्ने भन्दा हतोत्साही गर्ने कुरामात्र भएका र निरासा बढ्दै भट्किएका सन्दर्भहरुले झन बेचैन बनाइरहेको छ ।
नेतृत्वले विकल्प दिन सकेन । रहर नभएर बाध्यता बन्दै गएको छ विदेशिनु । सरकारी सेवा प्रवेश गरेको कर्मचारी विदेशिएका छन्, सेना–प्रहरी विदेशिएका छन्, डाक्टर इन्जिनियरसहितको दक्ष जनशक्ति विदेशिएको छ, यसरी हेर्दा स्तरीय जनशक्ति विदेसिइरहँदा पनि चुपचाप राजनीतिक नेतृत्वले कलिलो मानसिकतालाई दोषारोपण गरेर उनीहरुको रहर भन्दैमा उम्कन मिल्छ ?
उद्योग दर्तामा समस्या, सहुलियत लिने कुरामा समस्या, बजारमा समस्या, जग्गा प्राप्तिमा समस्या, कर प्रणालीमा समस्या, ऋण लिने कुरामा समस्या । यावत समस्याहरुका कारण आशाको वातावरण निर्माण हुन नसक्नु देशकै दुर्भाग्य हुने निश्चित छ । आज देशमा पर्याप्त विश्वविद्यालय छन्, पर्याप्त विषयमा उच्च शिक्षा अध्ययनको अवस्था छैन । अध्ययनसँगै र अध्ययनपश्चात सीप र शिक्षाअनुसारको श्रम बजार नभएका कारण जनशक्ति देश बस्न मानिरहेको छैन । यो अवस्था देशभित्र विकल्प हुँदाहुँदै बाहिरिनु उनीहरुको रहर हो भन्ने ढंगले पनि राजनीतिक नेतृत्वबाट अभिव्यक्तिहरु आउने गरेको छ, त्यस्तो अभिव्यक्ति गैरजिम्मेवार हो । नेतृत्वले विकल्प दिन सकेन । रहर नभएर बाध्यता बन्दै गएको छ विदेशिनु ।
सरकारी सेवा प्रवेश गरेको कर्मचारी विदेशिएका छन्, सेना-प्रहरी विदेशिएका छन्, डाक्टर इन्जिनियरसहितको दक्ष जनशक्ति विदेशिएको छ, यसरी हेर्दा स्तरीय जनशक्ति विदेसिइरहँदा पनि चुपचाप राजनीतिक नेतृत्वले कलिलो मानसिकतालाई दोषारोपण गरेर उनीहरुको रहर भन्दैमा उम्कन मिल्छ ? आज सिंगै विश्वले नेपाललाई सोधिरहेको छ । आज विदेशिएका विद्यार्थीहरुका पीडाहरुले संसारका विभिन्न देशहरुलाई दुःख्ने अवस्था कसका कारण बन्यो ? १२ कक्षाको पढाइ सकेर विदेशिएका युवाका पीडाले एउटा परायाको मन दुःख्ला तर, आफ्नै देशको राजनीतिक नेतृत्वको मन पग्लन सकेन, उनीहरुको रहर हो, रहर पुगेपछि फर्कन्छन् भनेर खेलाँचीपूर्ण अभिव्यक्ति आउने अवस्था बन्छ भने अनि विदेशिनु पीडापूर्ण बाध्यता होइन ?