कोशीको अपराजित यात्रा तोड्दै एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको शीर्ष स्थानमा – Nepal Press

कोशीको अपराजित यात्रा तोड्दै एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको शीर्ष स्थानमा

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेटमा दुई अपराजित टोलीबीच सोमबार भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले कोशी प्रदेशलाई ८ विकेटले हराएको छ ।

पहिला ब्याटिङ गरेको कोशीलाई ८४ रनमा रोक्दै एपीएफले जीतको आधार बलियो बनाएको थियो । कोशीले निर्धारित २० ओभरमा २ विकेट गुमाए पनि ८५ रनको सामान्य लक्ष्य दिएको थियो । कोशीका कप्तान रुविना क्षेत्रीले ४१, काजल श्रेष्ठले २५ र अप्सरी बेगमले १३ रन बनाएका थिए ।

एपीएफका सोनु खड्का र करुणा भण्डारीले एकएक विकेट हात पारे । विकेट नलिए पनि आफ्नो ४ ओभरमा रेखा रावलले १३ र सीता रानामगरले ११ रनमात्र खर्चिएका थिए ।

एपीएफले १७.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । विजयी टोलीका ईन्दु वर्माले अविजित ३६ र ज्योति पाण्डेले २४ रन बनाए । कप्तान सीता रानामगरले पनि १८ रन जोडिन् ।

चार खेलबाट ८ अंक भएको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको कोशीको ४ खेलबाट ६ अंक छ । सुदूरपश्चिम प्रदेशले पनि ४ खेलबाट ६ अंक जोडेको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेशले ४-४ अंक हात पारेका छन् । मधेश प्रदेशले चार खेलमा पहिलो जीत हात पारेको छ । कर्णाली अंकविहीन छ ।

सोमबार भएका अन्य खेलमा लुम्बिनीले कर्णालीलाई २० र मधेशले गण्डकीलाई २७ रनले पराजित गर्दा सुदूरपश्चिमले बागमती प्रदेशलाई ६ विकेटले हरार्एको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर