चैतबाट छायांकनमा जाँदै ‘वरिष्ठ बलराम’ – Nepal Press

चैतबाट छायांकनमा जाँदै ‘वरिष्ठ बलराम’

काठमाडौं । निर्माता रोहित अधिकारी यति वेला अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् ।

यो सिनेमाको पहिलो चरणको छायांकन पोखरामा सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । सिनेमाको पोखराका विभिन्न ठाउँमा २७ दिनसम्म छायांकन गरिएको थियो ।

यो सिनेमाको बाँकी छायांकन काठमाडौं, अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा गरेसँगै इन्ड क्ल्याप गरिनेछ । त्यसपछि उनी सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘वरिष्ठ बलराम’को छायांकनमा व्यस्त हुनेछन् ।

निर्माता अधिकारीले ‘फर्की फर्की’ र ‘वरिष्ठ बलराम’को छायांकन एकसाथ गर्ने तयारी गरेका थिए । निर्माता अधिकारी अब ‘वरिष्ठ बलराम’को छायांकन आगामी चैत्र तेस्रो साताबाट गर्ने तयारीमा छन् ।

उनले ‘फर्की फर्की’को छायांकनका कारण ‘वरिष्ठ बलराम’को छायांकन केही समयपछि धकेलिएको भए पनि अब घोषित मितिमै छायांकनमा जाने बताए ।

उनले यी दुवै सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरिसकेका छन् । अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको सिनेमा ‘फर्की फर्की’ आगामी वर्षको जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउनेछ ।

खगेन्द्र लामिछाने, दयाहाङ, माओत्से गुरुङ र दिव्या रायमाझीको मुख्य भूमिका रहेको सिनेमा ‘वरिष्ठ बलराम’ आगामी वर्षको तीजमा रिलिज हुनेछ ।

यही सिनेमाबाट अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् । यो सिनेमाको छायांकनको लागि उनी केही समयमा नेपाल आउँदै छिन् ।

निर्देशक पौडेलले ‘वरिष्ठ बलराम’को छायांकन तराईमा गर्नु पर्ने भएकाले पनि चैत्रलाई सारिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर