राप्रपाले कोशीमा सभामुख नलिने, सभामुख चयनको प्रक्रिया पछाडि धकेलिँदै – Nepal Press

राप्रपाले कोशीमा सभामुख नलिने, सभामुख चयनको प्रक्रिया पछाडि धकेलिँदै

विराटनगर । कोशी प्रदेशमा सभामुख चयनको प्रक्रिया तत्काल अगाडि नबढ्ने भएको छ । राप्रपाका केन्द्रीय नेताहरूका बीचमा कोशीमा सभामुख पद तत्काल नलिने सहमति भएपछि कोशीमा सभामुख चयनको प्रक्रिया पछाडि धकेलिने भएको हो ।

राप्रपाका महामन्त्री धवल शम्सेर राणाले तत्काल कोशीमा सभामुख नलिने सहमति भएको बताए । उनले कोशीका संसदीय दलका नेताले के भन्नु भयो भन्ने कुरा प्रमुख नभएको बताए ।

उनले भने, ‘आन्दोलन पनि गर्ने, अनि पदहरू पनि लिँदै जाने हो भने पार्टीको इमान्दारीता माथि प्रश्न उठ्छ । त्यही भएर पदाधिकारीका बीचमा तत्काल सभामुख पद नलिने सहमति भएको छ ।’ उनले राप्रपा निष्ठाको राजनीति गर्ने भएकाले पदका पछि नकुदने बताए । ‘हामी अहिले आन्दोलनको मोर्चामा छौं । आन्दोलन गरिरहेको पार्टी सरकारमा जाने पदहरू पनि लिने कुरा राम्रो होइन ।’

उनले सबै नेताहरूका बीचमा सभामुख पद तत्काल नलिने सहमतिमा पुगेको बताए । पदाधिकारीकाहरुको बैठक शुक्रवार काठमाडौंमा बसेको थियो । बैठकमा सहभागी केही नेताहरूले भने सभामुख लिनु पर्ने बताएका थिए ।

केही दिन अघि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशीमा सभामुख पद लिएर अगाडि बढ्ने बताएका थिए । उनले भनेका थिए,‘ सरकारमा नगए पनि सभामुख लिनु पर्छ भन्नेमा पुगेका छौं । हाम्रो तर्फबाट अम्बरबहादुर विष्टलाई सभामुखका लागि अगाडि सारिन्छ ।’ उनले सभामुख लिए पनि सरकारमा भने नजाने स्पष्ट पारेका थिए ।

साउनको १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिए कोशीमा सभामुख पद खाली रहेको छ । गौतमले राजीनामा दिएर नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन मत हालेका थिए । सभामुख पद रिक्त भएपछि उप सभामुख सृजना दनुवारले सभा चलाउँदै आएकी छन् ।

सभामुख पद खाली भएको विषयमा सदनमै कुरा उठेपछि पुसको पहिलो साताबाट कोशीमा सभामुख चयनको प्रक्रिया सुरु गर्ने दलहरूका बिचमा सहमति भएको थियो । कोशी प्रदेशको सत्तामा रहेका प्रमुख दल नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशीमा राप्रपालाई सभामुख पद दिन आफूहरू तयार भएको बताएका छन् ।

उनले सत्ता गठबन्धनका बीचमा राप्रपालाई सभामुख दिने सहमति भएको बताए । कोशी प्रदेशमा राप्रपाको ६ सिट रहेको छ । सभामुख दिए सरकारमा पनि आउने भन्दै गठबन्धन दलले राप्रपालाई सभामुख दिने सहमति गरेका थिए ।

सरकारमा नआए पनि सत्ता गठबन्धनको बहुमत भने पुग्ने छ । सत्ता गठबन्धनसँग अहिले ४७ सिट रहेको छ । सत्ता गठबन्धनकै दलले सभामुख पद लिए उनीहरूसँग मतदानका बेला ४६ सिट मात्रै हुने छ । कोशी प्रदेशमा बहुमतका लागि ४७ सिटको आवश्यकता पर्दछ ।

सत्ता गठबन्धनको बहुमत गुम्ने भएपछि सभामुख चयनको प्रक्रिया पनि पछाडि धकेलिने देखिएको छ । सत्ता गठबन्धनका एक नेताले भने, ‘राप्रपाले सभामुख नलिने हो भने तत्काल सभामुख चयनको प्रक्रिया सुरु हुँदैन । उप सभामुखले नै सभा चलाउनु हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *