हत्या र प्रहरी कार्यालय तोडफोड प्रकरण: प्रहरी इञ्चार्ज जिल्ला तानिए, हत्या आरोपी पक्राउ – Nepal Press

हत्या र प्रहरी कार्यालय तोडफोड प्रकरण: प्रहरी इञ्चार्ज जिल्ला तानिए, हत्या आरोपी पक्राउ

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ५ का दिपा मण्डलको हत्या प्रकरणमा ईलाका प्रहरी कार्यालय सुगानिकासका ईन्चार्ज (सई) बालमुकुन्द ठाकुरलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ ।

छिमेकीसँग आसपी विवाद भएपछि पक्राउ गरी प्रहरी हिरासतमा यातना दिएपछि मण्डलको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालय तोडफोड गरेपछि ईन्चार्ज ठाकुरलाई जिल्ला तानिएको हो । उनलाई आन्तरिक कारबाहीका लागि जिल्ला तानिएको धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले बताए ।

छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए । उनीहरु हत्यारा प्रहरी ईन्चार्ज ठाकुरलाई कारबाही गर र मृतकलाई क्षतिपूर्ति देउ नारा लगाउदै तोडफोडमा उत्रेको थियो ।

पैसा चोरी भएको विषयमा छिमेकी शंकर ठाकुरसँग दीपाको विवाद भएको थियो । शंकरले फोन गरेर प्रहरीबाट दिपालाई पक्राउ गर्न लगाएका थिए । पक्राउ गरेर लगेपछि सई ठाकुरले यातना दिएको र उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगेपछि अन्दाजी ६५ वर्षीय दिपाको मृत्यू भएको उनका आफन्त र स्थानीयको आरोप छ ।

प्रहरीले विनाकारण यातना दिएपछि दिपाको मृत्यू भएको भन्दै शुक्रवार विहानैदेखि स्थानीय आन्दोलित थिए । सो क्रममा आक्रोशित भीडले प्रहरी कार्यालय तोडफोड र दुई वटा मोटरसाइकलमा आगजनी गरेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको भनिएको छ । तर भीडलाई लक्षित गरी गोली चलाउदा दुई जनालाई लागेको छ । गोली लागेर ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् ।

घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्डलको दाहिने हाथमा गोली लागेको हो । अन्सारीको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । मण्डललाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

एसपी शर्माले प्रहरी कार्यालयमा आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले हवाइ फायर गरेको र राइफलको गोली लागेर अन्सारी र मण्डल घाइते भएको बताए । उनले प्रदर्शनकारीको ढुंगामुढाबाट कार्यालयमा धेरै क्षति पुगेको बताए ।

एसपी शर्माले मृत्यु भएका मण्डललाई प्रहरीले यातना दिएको आरोपमा कुनै सत्यता नरहेको दावी पनि गरेका छन् । उनले भने, ‘प्रहरीको हिरासतमा यातनापछि मण्डलको मृत्यु भएको कसैले गलत हल्ला फैलाइयो । सोही कारण स्थानीय तोडफोड र आगजनीमा उत्रे ।’

मण्डललाई कुटपिट गरेको घटनामा ठाकुर संलग्न रहेको र उनलाई पक्राउ पनि गरिसकेको एसपी शर्माले दावी गरे । उनका अनुसार ठाकुरविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी पनि परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *