डीआईलाई कारबाही माग गर्नेलाई प्रहरीको मुक्का, ह्वाइट हाउसका विद्यार्थी थप आन्दोलित (भिडिओ) – Nepal Press

डीआईलाई कारबाही माग गर्नेलाई प्रहरीको मुक्का, ह्वाइट हाउसका विद्यार्थी थप आन्दोलित (भिडिओ)

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कजेलमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने अनुशासन इन्चार्ज (डीआई) र विद्यार्थीलाई मुक्का हान्ने प्रहरीलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।

छात्रामाथि दुर्व्यवहार गर्ने कलेजका डीआई कृष्ण प्रसाद नेपाललाई कारबाहीको माग गर्दा उल्टै प्रहरीले विद्यार्थीमाथि हातपात गरेको थियो ।

मंगलबार कलेजमा विद्यार्थीहरुले डीआईलाई कारबाही गर्न माग गदै आन्दोलन गरेका थिए । सोही क्रममा प्रहरी आएर एक विद्यार्थीमाथि प्रहरी जवानले अपशब्द बोल्दै मुक्का प्रहार गरेको हो ।

दोषीलाई कारबाही गर्न माग गर्दा उल्टै प्रहरीले विद्यार्थीमाथि मुक्का प्रहार गरेपछि आक्रोशित विद्यार्थीहरु यतिबेला प्रहरी वृत्त नयाँबानेश्वरमा छन् ।उनीहरुले मुक्का हान्ने प्रहरी र यौन दुर्व्यवहार गर्ने डीआईलाई कारबाही गर्न माग गर्दै अभिभावकसहित आन्दोलन गरिरहेका छन् ।

विद्यार्थीका प्रतिनिधी र प्रहरीभित्र प्रहरी कार्यालयमा छलफल भइरहेको छ भने बाहिर विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । कक्षा १२मा पढ्ने छात्रामाथि डीआईले यौन दुर्वयवहार गरेको घटना बाहिर आएपछि विद्यार्थीहरुले कलेज प्रशासनमा उजुरी गरेका थिए ।

तर प्रशासनले कारबाही गर्नुको साटो यो घटना बाहिर ल्याए विद्यार्थीलाई निस्काशन गर्ने, फेल गराइदिने धम्की दिनुको साथै विद्यार्थीमाथि कुटपिट समेत गरेको थियो । प्रहरीमा उजुरी गर्दा उल्टै प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेको विद्यार्थीहरुको गुनासो छ ।

तस्बिरहरु: गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *