कर्णाली नदीबारे लुम्बिनी र सुदूरपश्चिमबीच विवाद, विज्ञ टीम बनाउने सहमति – Nepal Press

कर्णाली नदीबारे लुम्बिनी र सुदूरपश्चिमबीच विवाद, विज्ञ टीम बनाउने सहमति

कैलाली । कर्णाली नदीको नदी जन्य स्रोतको उपयोग तथा संरक्षणका विषयमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच विवाद सृजना भएको छ । लामो समयदेखि कर्णाली तटीय क्षेत्रमा रहेका दुवै प्रदेशका स्थानीय तहबीच विवाद भइरहेको हो । यसको समाधानको लागि दुवै प्रदेशका मुख्यमन्त्री सहितका प्रतिनिधिहरू एक आपसमा छलफल थालेका छन् ।

मंगलवार लुम्बिनी प्रदेशको बर्दियामा आयोजना गरिएको मुख्यमन्त्री स्तरीय संयुक्त संवादमा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समस्या समाधान गर्न सहमत भएका हुन् । समस्या समाधान गर्न सुदूरपश्चिमका कामु प्रमुख सचिव डा. हरिप्रसाद लम्साल र लुम्बिनी प्रदेशका निमित्त सचिव सुमन घिमिरेलाई विज्ञ समूह बनाउने जिम्मा दिने सहमति भएको थियो ।

संवाद समूह सचिवालय तुलसीपुर दाङले आयोजना गरेको कार्यक्रममा दुवै प्रदेशका मुख्यमन्त्री सहित, विभागीय मन्त्री , राज्य मन्त्री , प्रतिनिधि सभा सदस्य, सचिव, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रशासकीय अधिकृत,डिभिजन वन,निकुञ्ज, रानी जमरा कुलरिया सिचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना लगायतका सबै निकायका प्रतिनिधिहरू उपस्थित थिए ।

‘क्षेत्राधिकारको विवाद अझै सुल्झिएको थिएन । आजको छलफलले समस्या समाधान हुने अपेक्षा गरिएको छ’ संवाद समूहको वरिष्ठ सहजकर्ता सुनिल बस्नेतले भने, ‘विज्ञ टिमले अब यसको काम अगाडी बढाउने अख्तियारी पाएको छ । ’

पुसको तेस्रो साता भित्र विज्ञ टिमले समस्या समाधानको पहिचान गर्ने र त्यसको समाधानको लागि दुवै प्रदेश सरकार सहमत हुने जनाइएको छ । त्यसपछि संघीय सरकारलाई नीतिगत निर्णयको लागि आग्रह गर्ने तयारी गर्ने विषयमा मंगलवार दुई प्रदेश सरकार बिच छलफल भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर