अनाजबाट सीता-रामको प्रतिमा बनाउन आएका भारतका सतिषले पनि जानकी मन्दिरमै गरे विवाह – Nepal Press

अनाजबाट सीता-रामको प्रतिमा बनाउन आएका भारतका सतिषले पनि जानकी मन्दिरमै गरे विवाह

जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा अनाजबाट ११ हजार ११ वर्ग फिटको राम-सीता प्रतिमा बनाउन भारतको मध्य प्रदेशबाट जनकपुरधाम आएका एक जोडीले जानकी मन्दिरमै विवाह गरेका छन् ।

विश्व हिन्दू परिषद्ले सोमबार राति बिना दाइजो २१ जोडीको एक समारोहबीच जानकी मन्दिरमा सामूहिक विवाह गरायो । विवाह विधि भइरहँदा दुलाहाको भेषमा सज्जिर सतिष गुर्जर आइपुगे । विवाह समारोह हेर्न पुगेका सबैको ध्यान उनले तान्यो ।

सतिषलाई देखेर सहभागी सबै चकित परे । किनकि सतिष अनाजबाटै सीता-रामको विशाल प्रतिमा बनाउने टिमको नेतृत्व गरेका थिए । उनी कोसँग विवाह गर्न लागेको कुरा बुझ्न सबै कौतूहल बने ।

एक छिनमै पहिलेदेखि दुलहा-दुलहीबीच वैदिक परम्परा अनुसार माला फेराफेर भयो । जसलाई ‘स्वयम्वर’ भनिन्छ । स्वयंवर सकेपछि सतिषले भने, ‘यहाँ सीता-रामको प्रतिमा बनाउन आएका थियौँ । तर यो पवित्र भूमिमा विवाह गरे । सायद भगवानकै इच्छा थियो । यो मेरो लागि ठूलो सौभाग्य प्राप्त भयो ।

सतिषले भारतको मध्य प्रदेशकै यागिनी गुर्जरसंग विवाह गरेका हुन् । यागिनी पनि सतिषकै टिममा सीता-राम प्रतिमा बनाउन आएकी थिइन् । उनीहरू पहिलेदेखि एकअर्कालाई प्रेम गर्थिन् । तर बिहे नै गर्ने टुङ्गो थिएन ।

सतिष र यागिनी एकै गाउँको रहेको बुझिएको छ । सतिषले यहाँ स्वयंवर गरेको र गाउँ पुगेपछि परम्परा अनुसार विवाह गर्ने बताए ।

सामूहिक विवाह अगाडी सबै बेहुलालाई रथमा बाजागाँजासहित जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । त्यसपछि जानकी मन्दिरको प्राङ्गणमा राम-सीताको विवाह भएकै मण्डपमा उनीहरूलाई सामूहिक स्वयंवर गरियो ।

विश्व हिन्दू परिषद्ले केहि वर्षदेखि बिना दाइजो विवाह पञ्चमीको अवसरमा सामूहिक विवाहको आयोजना गर्दै आएको छ । विवाह गरेका बेहुला र बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य आवश्यक वैवाहिक सरसमान परिषद्ले निःशुल्क उपलब्ध गराए ।

यो सीता-रामको ११ हजार ११ वर्गफिटको प्रतिमा अनाजबाटै बनाएका थिए सतिष नेतृत्वको टीम । यो प्रतिमा विश्व रेकर्डको प्रतिक्षामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *