सुदूरपश्चिमका जनताप्रति गोविन्द केसीको तुच्छ टिप्पणी– यिनीहरु त्यो आतंककारी दुर्गे प्रसाईंसँग मिलेका छन् (भिडिओ) – Nepal Press

सुदूरपश्चिमका जनताप्रति गोविन्द केसीको तुच्छ टिप्पणी– यिनीहरु त्यो आतंककारी दुर्गे प्रसाईंसँग मिलेका छन् (भिडिओ)

कैलाली । अनसनविद डा.गोविन्द केसीले सुदूरपश्चिममा गेटा मेडिकल विश्वविद्यालय स्थापनाका लागि संघर्षरत स्थानीय जनतालाई माफिया जस्ता तुच्छ शब्दले प्रहार गरेका छन् ।

उनको नियमित अनसन श्रृंखलाको सबैभन्दा छोटो अर्थात ३ दिने ‘अनसन’ तोड्ने क्रममा आक्रोशित हुँदै प्रधानमन्त्रीलाई चीपको संज्ञा दिए भने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई माफिया,ठग,आतंककारीजस्ता अमर्यादित शब्द प्रयोग गर्दै एकार लगाएर सम्बोधन गरेका थिए ।

यसपटक उनको अनसनलाई कसैले वास्ता नगरेपछि मर्यादाको सीमा नाघेर उनले तथानाम बोलेका हुन् । चिकित्सा शिक्षा सुधारको एजेण्डा बोकेर बिसौंपटक अनसन बसिकेका केसीबारेमा धेरैको भ्रम हट्दै गएपछि उनले यसपटक कसैको समर्थन पाएनन् ।

शिक्षण अस्पतालबाट अवकाश पाएका केसीको अनसन राजनीतिक एकप्रकारले पेशा बनिसकेको छ ।

प्रा.डा.  केसीले कैलालीको गेटामा प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न नसक्ने जिकिर गरेका छन् । आफ्नो तीन दिने अनसन तोड्दै उनले विश्वविद्यालयको नाममा नेताहरूले जनतालाई धोका दिइरहेको आरोप लगाए ।

‘नेपालमा कहीं पनि त्यस्तो छैन । उहाँहरू न डाक्टर हो न त मेडिकल विज्ञ । के आधारमा उहाँहरूले विश्वविद्यालयको कुरा उठाइरहनु भएको छ’, उनले भने, ‘३०० बेडको अस्पताल आवश्यक पर्छ ।’

विश्वविद्यालयको प्रक्रिया नै नपुर्‍याएर त्यस विषयमा भ्रम सिर्जना गर्न खोजिएको डा. केसीको आरोप थियो । ‘विश्वविद्यालयको प्रक्रिया पुर्‍याएको छैन । सुदूरपश्चिमका आमजनतालाई धोका दिने कुरा भयो’, उनले भने ।

उनले तत्काल गेटामा प्रतिष्ठान वा मेडिकल कलेज अगाडि बढाउनुपर्ने बताए ।

‘विशेषज्ञ सेवा पनि दिने र स्वास्थ्यसम्बन्धी पठनपाठन पनि सुरु गर्ने कुरा मेडिकल कलेजले दिइरहेको छ । प्रतिष्ठानले दिइरहेको छ । यहाँ विश्वविद्यालयको के आवश्यकता ? विश्वविद्यालय खोल्न ठूलो लगानी चाहिन्छ । आर्थिक मन्दीमा गयो भनेर ३०० बेडको अस्पताललाई ५० बेड पनि नबनाउने ?’, केसीको प्रश्न थियो ।

केही समयअघि निरीक्षणमा आएको सङ्घीय संसदीय समितिको टोलीमाथि पनि उनले टिप्पणी गरे । ‘संसदीय समितिका प्रतिनिधिहरु आएका थिए । उनीहरूले यो भइहाल्छ भनेछन् जनतासँग, उनीहरूलाई मतलब छैन’, केसीले भने ।

विश्वविद्यालय बनाउने भनेर अल्झाएर निजी मेडिकल कलेजलाई प्रशय दिने उद्देश्य रहेको उनको आरोप छ ।

अघिल्लो पटक आफू अनसनमा बस्दा गरिएको सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए ।

‘मसँग सम्झौता भएको १६ महिना भयो । खै अहिलेसम्म अस्पताल सुरु गरेको ? गरिब मान्छेहरूलाई निजीमा लैजान हो’, उनले भने, ‘प्रक्रिया पुर्‍याएको छैन, सम्भावना अध्ययन भएको छैन । नेपालमा कहिले पनि नभएको मेडिकल विश्वविद्यालयको कुरा यहाँ किन गर्नुपर्‍यो ?’

अन्त कहीं नभएको मेडिकल विश्वविद्यालय गेटामा सम्भव नहुने भन्दै उनले भने, ‘अरू ठाउँमा युनिभर्सिटी छैन । पूर्वको धरानमा प्रतिष्ठान छ । २७ वर्ष भयो । कति राम्रो सेवा दिइरहेको छ । गुणस्तरीय जनशक्ति उत्पादन गरिरहेको छ । प्रतिष्ठानले नहुने हो ? मेडिकल कलेजले नहुने हो ? म विज्ञ हुँ । मलाई थाहा छ ।’

मेडिकल कलेज र प्रतिष्ठानले पनि त्यही सेवा दिइरहेको र आफूसँग पनि त्यही सम्झौता भएको भन्दै डा. केसीले विश्वविद्यालयको अवधारणाबारे शङ्का व्यक्त गरे ।

‘जुन ठाउँमा वर्षौंदेखि मेडिकल कलेज चलेर स्थापित भयो । त्यो बेलामा थप आवश्यकता बहन गर्दा विश्वविद्यालय हुन्छ । यहाँ त पहिले प्रतिष्ठान वा मेडिकल कलेज स्थापना गरौं, त्यो राम्रोसँग चलोस् । त्यसपछि आवश्यक भएपछि हामी लड्छौं, म लड्छु नि’, उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएर विश्वविद्यालय हुन्छ भनेको आधारमा विश्वविद्यालयको बहस सुरु भएको उनको ठहर थियो । उनले भने, ‘चिकित्सा शिक्षा आयोगलाई मतलब नै नराखी यहाँ आएर त्यो भनेर गए । त्योभन्दा अगाडिका प्रधानमन्त्रीले प्रतिष्ठान नै हुने भन्ने । उनले आएर त्यो भने, कस्तो चिप पपुलारिटी ?’

शुक्रबार गेटामा अनसन बस्न पुगेका केसीलाई विश्वविद्यालय पुनःस्थापना गर्न सङ्घर्षरत स्थानीयले अवरोध गरेका थिए । उनले त्यहाँ आफूलाई दुर्व्यवहार भएको बताए ।

‘त्यहाँ दुर्व्यवहार र धम्कीमा उत्रिनुभयो । म न प्रचण्ड, न ओली न त देउवाजी । यस्ता धेरैले धम्की दिए । वर्षौदेखि धम्की दिए । म कसैसँग डराउनेवाला छैन’, उनले भने, ‘म कसैको गुण्डागर्दीमा डराउनेवाला छैन ।’

सुदूरपश्चिमका नागरिकले विशेषज्ञ उपचार नपाएर टाढा जानुपर्ने बाध्यताको विरुद्धमा आफू लडिरहेको केसीले बताए ।

दुर्गा प्रसाईंमाथि पनि केसीले टिप्पणी गरे । बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले अनुमति पाउन शीर्ष नेताहरूसँग नजिक भएको उनको भनाइ थियो ।

‘दुर्गा प्रसाईंले ठूल्ठूला नेताहरूको सङ्गत गरे । पहिले प्रचण्डसँग नजिकिए । प्रचण्डले यिनलाई प्रयोग गरे । यिनले प्रचण्डलाई प्रयोग गरे । त्यहाँ नहुने भएपछि ओलीसँग लाग्यो । उनले पनि धेरै प्रयास गरे । त्यहाँ ओलीजीले पनि सकेनन् । टिकट सिकटमा के भयो उनले ओलीलाई पनि छोड्यो’, केसीले भने, ‘अहिले कांग्रेसको मेडम आरजुज्युकोमा छ, राजा फर्काउन पनि लागेको । यो ठगी र अपराधमा जेलमा हुनुपर्ने हो । त्यहाँ बच्न पनि ठूला नेताहरूसँग समीपमा छ ।’

गेटामा उनले प्रधानमन्त्री प्रचण्डदेखि दुर्गा प्रसाईंसम्मलाई दोषी देखेका छन् ।

‘प्रचण्ड चिप हुन् । स्वास्थ्य सेवाको निजी व्यवसायी लागिरहेका छन् । त्यो सँगै अर्को गिरोह छ, एउटा आपराधिक गिरोह । ठग, अपराधी, माफिया, आततायी गिरोह पनि यसमा सम्मिलित छ । त्यो गिरोहको नेता भनेको को हो भन्नुहोस् त’, उनले पत्रकारलाई प्रश्न गर्दै भने, ‘त्यसको नाममा हो दुर्गे प्रसाईं । म दुर्गा पनि भन्दिनँ । दुर्गा त भगवानको नाम हो । त्यो ठग हो । अपराधी हो । माफिया हो ।’

उनले स्थानीय सङ्घर्ष समितिलाई पनि आरोप लगाउन बाँकी राखेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *