१८ वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकले कति दिँदै छ ब्याज ? – Nepal Press

१८ वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकले कति दिँदै छ ब्याज ?

काठमाडौं । २० वाणिज्य बैंकहरूमध्ये १८ वटा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा १८ वटा बैंकले मुद्दती निक्षेप ब्याजदर घटाएका हुन भने, दुई वटा बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुस महिनाका लागि कुनै कुनै पनि वाणिज्य बैंकले ब्याजदर बढाएको छैन । यसअघि मंसिर महिनामा माछापुच्छ्रे बैंकले मात्रै आफ्नो ब्याजदर बढाएको थियो । चालू आर्थिक वर्षको सुरूमा बैंकहरूमा ब्याजदर बढाउने होडबाजी नै चलिरहेको थियो भने, कार्तिक महिनायता बैंकमा ब्याजदर घटाउने प्रतिस्पर्धा रहेको देख्न सकिन्छ । बजारमा अधिक तरलता भएसँगै बैंकहरूले आफ्नो ब्याजदर घटाउँदै आएका छन् ।

पुस महिनाका लागि ब्याजदर घटाउनेमा हिमालयन बैंक शीर्ष स्थानमा रहेको छ। हिमालयन बैंकले सबैभन्दा बढी २ प्रतिशत सम्म ब्याजदर घटाएको छ ।

त्यस्तै, ब्याजदर घटाउनेमा एनएमब बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इनभेष्टमेन्ट मेघा बैंक, लक्ष्मी सनराईज बैंक, प्राईम बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, कृषि विकास बैंक,नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक र एभरेस्ट बैंक रहेका छन् ।

प्रभु बैंक र सानिमा बैंकले भने, मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैकहरूले आज अर्थात् पुस १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जहाँ आधा दर्जन बैंकहरूले भने, मंंसीर महिनाको अन्तिमबाटै लागू हुने गरी नयाँँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

कुन बैंकको ब्याजदर कति ?

एनआईसी एसिया बैंकले मंसिर महिनाको तुलनामा निक्षेप ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनामा दिँदै आएको अधिकतम मुद्दती निक्षेप ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । एनआईसी एसिया बैंकले पुस महिनाका लागि संस्थागततर्फ अधिकतम मुद्दती निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंकले पनि मंसिर २५ गतेदेखि नै लागू हुने गरी आफ्नो ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज कायम गरेको छ । जहाँ मङ्सिर महिनामा बैंकले अधिकतम ९.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो । बैंकले संस्थागततर्फको मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज कायम गरेको छ ।

मङ्सिर महिनामा ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक माछापुच्छ्रे बैंकले पनि मंसिर २६ गतेदेखि नै लागू हुने गरी आफ्नो ब्याजदर घटाएको हो । यसअघि मंसिरमा बैंकले दिँदै आएको मुद्दती निक्षेपतर्फ १०.६० प्रतिशत ब्याजदरलाई घटाएर ९.६० प्रतिशतमा झारेको छ । बैंकले संस्थागत तर्फ अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकिएको छ ।

मंंसिर महिनामा ब्याजदर घटबढ नगरेको कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । कुमारी बैंकले मङ्सिर २४ गते देखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले व्यक्तिगत तर्फको अधिकतम मुद्दती निक्षेप १०.०१ प्रतिशत ब्याजदरलाई घटाएर ९.३१ प्रतिशतमा झारेको हो । बैंक संस्थागत तर्फ अधिकतम ७.३१ प्रतिशत ब्याजदर तोकेको छ ।

स्टयाडर्ड चाटर्ड बैंकले पनि मङ्सिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । बैंकले पुष महिनाका लागि व्यक्तिगततर्फ अघिकतम मुद्दती निक्षेप ब्याजदर ८.५६ प्रतिशत तोकेको छ । भने, संंस्थागत तर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । मङ्सिर महिनाका लागि बैंकले अधिकतम ८.९७ प्रतिशत ब्याज कायम गरेको थियो ।

कृषि विकास बैंकले पुस महिनाका लागि आफ्नो मुद्दती निक्षेप ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनामा अधिकतम ९.५१ प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.०१ प्रतिशतमा झारेको छ । पुस महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगततर्फ अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो निक्षेप ब्याजदर घटाएको छ । सिटिजन्स बैंकले मंसिर महिनामा दिँदै आएको ९.९५ प्रतिशत अधिकतम मुद्दती निक्षेपको ब्याजदरलाई ९.३५ प्रतिशतमा झारेको छ । बैंकले अब पुस महिनामा व्यक्तिगततर्फ अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६० प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेस्ट बैंकले पनि पुस महिनाका लागि आफ्नो मुद्दती निक्षेप ब्याजदर घटाएको छ । एभरेस्ट बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फ अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । जबकि बैंकले मंसिरमा पनि ब्याजदर घटाएर ९ प्रतिशतमा झारेको थियो । त्यस्तै, बैकले संस्थागत तर्फको अधिकतम ब्याज ६ प्रतिशत कायम गरेको छ ।

ग्लोबल आइएमई बैंकले पुस महिनामा आफ्नो ब्याजदर घटाएको छ । जहाँ यसअघि मंसिर महिनामा दिँदै आएको अधिकतम ९.६० प्रतिशत मुद्दती निक्षेप ब्याज घटाए ८.६० प्रतिशतमा कायम गरेको छ । ग्लोबल आइएमई बैंकले पुस महिनामा व्यक्तिगत तर्फ अधिकतम ८.६० प्रतिशत र संस्थागत तर्फ अधिकतम ६.६ प्रतिशत ब्याजदर दिने भएको छ ।

पुस महिनाका लागि वाणिज्य बैंकहरूमा हिमालयन बैंकले सबैभन्दा बढी २ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनामा प्रदान गर्दै आइरहेको व्यक्तिगत तर्फको अधिकतम १०.६० प्रतिशत ब्याजदर २ प्रतिशतले घटाएर ८.६० प्रतिशत कायम गरेको छ । त्यस्तै संस्थागततर्फ अधिकतम ६.६० प्रतिशत ब्याज कायम गरेको छ ।

मंसिर महिनामा ब्याजदर स्थिर राखेको लक्ष्मीसनराइज बैंकले पनि पुस महिनामा ब्याजदर घटाएको छ । पुस महिनामा बैकले व्यक्तिगततर्फ अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ । बैंकले मंसिरमा १० प्रतिशत ब्याज दिँदै आएको थियो । अब लक्ष्मीसनराइज बैंकले संस्थागततर्फ मुद्दती निक्षेपमा अधिकतम ७.५ प्रतिशत ब्याज दिने जनाएको छ ।

नबिल बैंले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । नबिल बैंकले पुसमा मुद्दती निक्षेपको व्यक्तिगत तर्फ अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राईम कमर्सियल बैंकले मंसिर महिनाको अधिकतम १०.२५ प्रतिशतको ब्याजदरलाई १० प्रतिशतमा झारेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फ अधिकतम १० प्रतिशत र संस्थागत तर्फ अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

मंसिर महिनामा ब्याजदर घटबढ नगरेको नेपाल बैंकले पनि पुस महिनामा ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५५ प्रतिशत ब्याज तोकेको छ ।

नेपाल इनभेष्टमेन्ट मेघा बैंकले मंसिर महिनामा दिँदै आएको व्यक्तिगत तर्फको अधिकतम ९.५१ प्रतिशत ब्याजदर ९.५० प्रतिशतमा झारेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ९.५० प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५० प्रतिशत तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंकले मंसिर महिनाको अधिकतम १०.६० प्रतिशत मुद्दती निक्षेपको ब्याजदर ९.६० प्रतिशतमा झारेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ९.६० प्रतिशत र संस्थागत तर्फ ७.६० प्रतिशत ब्याजदर तोकेको छ ।

मंसिर महिनामा ब्याजदर स्थिर राखेको सिद्धार्थ बैंकले पनि पुसमा ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ९.२२ प्रतिशत ब्याजदर तोकेको छ । मंसिर महिनामा बैंकले अधिकतम ९.९९ प्रतिशत ब्याज दिँदै आइरहेको थियो ।

सानिमा बैंकले मंसिर महिनाकै व्यक्तिगततर्फको अधिकतम ९ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ । प्रभु बैंकले पनि मंसिर महिनाकै व्यक्तिगततर्फ अधिकतम ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशतको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर