बाराको सिम्रौनगढ मेयरको गाडी तोडफोड, प्रहरीले गोली चलाउँदा एकजना घाइते – Nepal Press

बाराको सिम्रौनगढ मेयरको गाडी तोडफोड, प्रहरीले गोली चलाउँदा एकजना घाइते

जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारको गाडीमा तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । उनको नाम खुल्न सकेको छैन । ढुंगामुढा र तोडफोडपछि दुई पक्षबीच भएको झडपमा प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले गोली चलाएर स्थिति नियन्त्रणमा लिएको छ ।बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जानकारी दिए । उनका अनुसार हवाई फायर गर्दा नै एक जनालाई गोली लागेको छ ।

मेयर कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा बा २ झ ४३५४ नम्बरको गाडी एक समूहले तोडफोड गरेका थिए । स्रोतका अनुसार आन्दोलित मेयरका विपक्षी समूहले ढुंगामुढा गरी गाडी तोडफोड गरेको बुझिएको छ ।

सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । जनप्रतिनिधिमै विवाद छ । नगर सभा समेत नभएकाले कर्मचारीहरू तलबबाट समेत वञ्चित छन् ।

नगरपालिकामा ५ महिनादेखि अस्पतालमा आकस्मिकसहितका सेवा बन्द छन् । शिक्षकहरू तलब नपाएपछि उनीहरू एक सातादेखि सामुदायिक विद्यालयहरू समेत बन्द गरेर आन्दोलित छन् । वडा कार्यालयहरु पनि बन्द रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *