रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने प्रयास गर्छाैं: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

रूसी सेनामा भर्ती भएका नेपालीलाई सकुशल फर्काउने प्रयास गर्छाैं: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अहिले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण भएकाले नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेको बताएका छन्।

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अहिले पनि रुसी सेनामा दुई सयभन्दा धेरै नेपालीहरु भर्ना भएको विषय चिन्ताजनक भएको बताए।

उनले भने, अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् ।

उनले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेको उल्लेख गर्दै तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उनको भनाइ छ।

उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने हरसम्भव प्रयास रहेको बताए।

उनले भने, काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय छ । यसबाट आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपायहरू, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयाम आदिका लागि बाटो खुलेको छ ।

काठमाडौं विश्वविद्यालयले चलाइरहेका बहुविधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेको बताए।

उनले भने, नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ । काठमाडौं विश्वविद्यालयले जसरी आफ्नै तवरले त्यस प्रक्रियाको नेतृत्व लिइरहेको छ, त्यसमा सहयोग गर्न सरकार सदैव तत्पर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर