मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक – Nepal Press

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङ । कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार ८०० भन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।

सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार ८०६ जना विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । उनका अनुसार अक्टोबर महिनामा सबैभन्दा बढी पाँच हजार १९८ पर्यटक भित्रिएका छन् ।

साथै सन् २०२३ को जनवरीमा १८४, फेब्रुअरीमा ४९९, मार्चमा दुई हजार ७३६, अप्रिलमा चार हजार २२१, मेमा एक हजार ५७१, जुनमा २५२, जुलाईमा २५६, अगस्टमा ३१६, सेप्टेम्बरमा दुई हजार २५७, अक्टोबरमा पाँच हजार १९८ र नोभेम्बरमा तीन हजार २४८ पर्यटक भित्रिएका छन् ।

सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन् । फ्रान्सका दुई हजार ४८५, इजरायलका एक हजार ८३, जर्मनका एक हजार ८३७, बेलायतका एक हजार ४७३, अमेरिकाका एक हजार २१३, रसियाका एक हजार १६७, अस्ट्रेलियाका एक हजार १०५, नेदरल्याण्डसका ९७० र भारतका ८९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ ।

सन् २०२२ मा मनाङमा १५ हजार ९०३ जना विदेशी पर्यटक भित्रिएका थिए । कोभिड महमारीको समयमा पनि सन् २०२० मा एक हजार ९७६ र सन् २०२१ मा दुई हजार ४७३ बाह्य पर्यटक भित्रिएका थिए । साथै सन् २०१९ मा २६ हजार ६४७, सन् २०१८ मा २९ हजार ४८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए ।

कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् । मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन् । विश्वकै १०औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् ।

रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताउँछन् । उनले भने, ‘हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौं । तर, शारीरिक रुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ । नेपाल प्राकृतिक रुपमा धनी छ । यसको महसुस गर्न सक्नुपर्छ । सबै देशका मानिस नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ ।’ -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर