कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै – Nepal Press

कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै

कञ्चनपुर । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदैछ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ ।

सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मत सम्भारको काम सुरु हुने जानकारी दिए ।

‘सरकारले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुरु गर्दैछ ।’ उनले भने, ‘विछोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गर्नेछ ।’

कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य गर्नेछ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु हुने जानकारी दिए ।

‘कञ्चनपुरमा पर्ने मुख्य सीमास्तम्भमध्ये ६६ वटा सशस्त्र प्रहरी बलले मर्मत गर्नेछ भने १३ वटा एसएसबीले गर्ने छ ।’ प्रहरी उपरीक्षक रावलले भने, ‘त्यसका लागि सरकारले नापी विभागबाट समेत एक जना प्रतिनिधि खटाएको छ ।

उहाँले विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत/सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताउनुभयो । पछिल्लो केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *