वनमा पनि गठबन्धन, संसदीय झल्को दिनेगरी निर्वाचन प्रचार प्रसार – Nepal Press

वनमा पनि गठबन्धन, संसदीय झल्को दिनेगरी निर्वाचन प्रचार प्रसार

चितवन । सरकार सञ्चालनमा भएको राजनीतिक गठबन्धनको प्रभाव पछिल्लो समय विद्यालय, खानेपानी उपभोक्ता समिति, सामुदायिक वन लगायतका सामाजिक संघसंस्थामा अझ बढी पर्न थालेको छ ।

गैँडाकोटको जयश्री सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनमा पनि दलगत गठबन्धन प्यानल नै बनाएर अघि बढ्यो ।

पुरानो कार्यसमिति चयनको लागि भएको अधिवेशनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका सरकारको नेतृत्वमा रहेका दलहरु एकातिर प्यानल बनाए । जसको नेतृत्व भीमबहादुर कुमालले गरेका थिए ।

अर्कोतिर नेकपा एमाले एक्लै प्यानल बनाएर निर्वाचनमा गएको थियो । प्रतिस्पर्धामा थिए एमालेका दीनेशराज न्यौपानेका टीम ।

करिब २ हजार सय उपभोक्ताबाट मत पाउन गठबन्धन समूहले भ्यानमा करिब महिना दिनअघिदेखि प्रचारप्रसार अभियान चलाएको थियो भने एमालेका उम्मेदवारहरु अटोबाट प्रचारप्रसार गरि उपभोक्ताका घरघर पसगेका थिए । सामुदायिक वनको चुनावी माहौल संसदीय निर्वाचनको झल्को दिनेझैँ थियो भन्छन्, स्थानीय पत्रकार गोविन्द घिमिरे ।

आज आएको मत परिणाम अनुसार जयश्री सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको तीन वर्षको कार्यकालको लागि अध्यक्षमा भिमबहादुर कुमाल विजयी भए ।

नेपाली काँग्रेस, माओवादी केन्द्र सहितका दलहरुको गठबन्धनका उमेदवार कुमालले नेकपा एमालेको तर्फबाट अध्यक्षको उमेदवार बनेका न्यौपानेलाई ५ मतको झिनो अन्तरले पराजित गरेका हुन् ।

उपाध्यक्षमा ढाकादेवी सुवेदी, सचिवमा टेकबहादुर आले, कोषाध्यक्षमा पार्वती ढकाल, सहसचिवमा अर्जुन पोखरेल सदस्यहरुमा काशिराम गौतम, कुलप्रसाद आचार्य, एकदेव घिमिरे, निर्मलराज रिमाल, सकुन्तला दवाडी, इश्वरी खत्री, सरस्वती बगाले, राधिका कार्की, लक्ष्मी कमली, सुनिता दर्जी विजयी भए । कार्यसमितिमा एक महिलाबाहेक सबै गठबन्धनका उम्मेदवार विजयी भए ।

यस्तै लेखा समिति संयोजकमा राजेन्द्रराज घिमिरे र सदस्यहरुमा सुवासचन्द्र आचार्य र वासुदेव आचार्य विजयी भएका हुन् ।

सामुदायिक वनको २ हजार ७६१ उपभोक्ता मध्ये १५ सय ५९ उपभोक्ताले मतदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर