युएईका लगानीकर्तालाई नेपालको जलविद्युत, पर्यटन र कृषिमा लगानी गर्न चन्द्र ढकालकाे आह्वान – Nepal Press

युएईका लगानीकर्तालाई नेपालको जलविद्युत, पर्यटन र कृषिमा लगानी गर्न चन्द्र ढकालकाे आह्वान

दुबई। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गरेका छन् ।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताएका हुन् ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे।

अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गरे।

अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेको तर्फ पनि युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकोले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवर्द्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेको तर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने बताए।

नेपाल र युएई बीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले लगानी प्रवर्द्धनमा सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए ।

दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराए ।

दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर