अस्पतालभित्रै डाक्टरमाथिको आक्रमण, सबै सेवा रोकेर आन्दोलनमा – Nepal Press

अस्पतालभित्रै डाक्टरमाथिको आक्रमण, सबै सेवा रोकेर आन्दोलनमा

मृतक महिलाको शव बाहनमै, सयौै बिरामी गेटबाटै फर्काइए

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका वडा नं ४ ठूलोलुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दाका मेडिकल सुपरिटेण्डेन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर राजेन्द्र बस्यालमाथि कुटपिट गरेपछि अहिले सो अस्पतालमा सबै सेवा रोकिएका छन् ।

महिला तथा बालबालिकाको उपचार हुने सो अस्पतालमा सेवा रोकिँदा सयौं बिरामी प्रभावित भएका छन् । बुटवल–१० बेसक्याम घरभएका ४६ वर्षीय डाक्टर बस्यालमाथि मृतक महिलाका आफन्तहरूले गयराती आक्रमण गरेपछि अहिले उनको उपचार भइरहेको छ ।

मङ्सिर ११ गते बिहान सुरक्षित सुत्केरी सेवाका लागि भर्ना भएकी रास्कोटीको पेटमा बच्चा ठूलो भएकोले शल्यक्रिया गरेर सोही दिनै बिहान ११ बजे पाँच किलोग्राम तौलको शिशुलाई जन्माइएको थियो ।

अस्पतालका सूचना अधिकारी खगेन्द्र क्षेत्रीका अनुसार शल्यक्रिया गर्दासम्म स्वास्थ्य अवस्था सामान्य रहेको र मङ्सिर १२ गते बिहान डाक्टरले राउण्ड गर्दा पनि अवस्था सामान्य रहेको थियो । दिउँसो १२ बजे महिला सुतेर एक्कासी उठ्ने बेला शरीरमा अचानक कम्पन भएर रिङ्टा लागेको महिलाले जानकारी दिएको क्षेत्री बताउँछन् । उनको उपचारकै क्रममा मङ्सिर १२ गते दिउँसो साढे १ बजे बिरामीको मृत्यु भएको थियो भने बच्चा स्वस्थ रहेको छ ।

अस्पतालका चिकित्सक डाक्टर सन्तोष पोखरेलका अनुसार बच्चाको तौल ठूलो भएको र बच्चा जन्मिसकेपछि पाठेघर आफै खुम्चने हुन्छ र सोही क्रममा एक्कासी पल्मोनरी कार्डियोको समस्या भई हार्टअट्याक भएर मृत्यु भएको हो । विशेषज्ञका अनुसार यस्ता घटनाहरू निकै कम संख्यामा हुन्छ ।

अस्पताल प्रशासनका अनुसार घटनापछि मृतकका आफ्न्त, पति र अन्य केहीलाई घटनाका विषयमा बुझाइएको थियो । मृतकका अन्य आफन्तहरूले आमाको मृत्यु भएपनि शिशुका लागि हेरविचार गरीदिनु पर्‍यो भन्दै ५० लाख रूपैयाँ माग राखेको र अस्पतालले आफ्नो कुनै कमजोरी नभएको तथा त्यसरी दिन स्रोत पनि नभएको जनाएको थियो ।

अस्पतालका सूचना अधिकारी क्षेत्रीले भने,‘ त्यसप्रकारको रकम माग भएपछि हामीले तपाईलाई त्यस्तो लाग्यो भने कानुनी उपचार खोज्नुस् भन्दा मेसुमाथि एक्कासी टाउको र पेटमा कुर्सी र मुक्का प्रहार भएको हो, यो विषयमा सबै प्रमाणहरु रहेका छन् ।’

कुटपिटबाट घाइते भएका डाक्टरको बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयुमा उपचार भइरहेको छ । अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव वाहनमा राखेर निस्कने तयारी गरी रहेको बेला उत्तेजक समूह पसेर बस्यालमाथि आक्रमण गरेका थिए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव वाहनमा राखिएको छ ।

मृतकका आफन्तहरूको आक्रमणबाट अस्पतालको प्रशासनिक भवनका झ्याल, ढोका लगायतका फर्निचरहरू तोडफोड गरिएको छ । अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन ।

लुम्बिनी चिकित्सक संघका महासचिवसमेत रहेका डा। सन्तोष पोखरेलले घटनाको विषयमा कुनै शंका भएमा कानुनी उपचार गर्नुको सट्टा चिकित्सकमाथि हातपात गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कारवाही र चिकित्सकहरूको सुरक्षाको ग्यारेण्टी नभएसम्म आफूहरूले डिउटी गर्न नसकिने जनाएका छन् ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाका अनुसार सुत्केरीको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले ५० लाख रूपैयाँ क्षतिपूर्ति मागेको र अस्पताल प्रशासनले अस्पतालको गल्ती नभइ क्षतिपूर्ति कसरी दिन मिल्छ भन्दा डाक्टरमाथि कुटपिट भएको हो ।

डिएसपी थापाले घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले घटनास्थलबाट ७ जनालाई लिएर आवश्यक अनुसन्धान भइरहेको बताए।
घाइते डाक्टर बस्यालको टाउको र पेटमा चोट लागेकोले आइसीयुमा राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका मेडिकल सुपरिटेण्डेन डाक्टर सुदर्शन थापाले जानकारी दिए ।

रासकोटीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । सोमबार नै शल्यक्रिया गरेर बच्चा जन्माइएको रासकोटीको बच्चा सकुशल छन् । मंगलबार बिहान सुत्केरी महिला बेडबाट जुरुक्क उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’का कारण अचानक मृत्यु भएको अस्पतालको दाबी छ ।

डाक्टर पोखरेलका अनुसार गर्भवती महिलाको पेटमा ५ किलोको बच्चा रहेको र ठूलो बच्चा भएको अवस्थामा गर्भवती महिलाको पाठेघर धेरै खुलेको हुने र शल्यक्रिया गरेर बच्चा निकालेपछि त्यो पाठेघर खुम्चिन समय लाग्छ । तर, सुत्केरी महिला मंगलबार बिहान बेडमा सुतिरहेको अवस्थामा जुरुक्क उठेपछि पाठेघरमा एक्कासी समस्या आउने जोखिम थियो ।

उनले भने, ‘त्यसैलाई पल्मनरी इम्बोलिजम भनिन्छ, पाठेघर राम्रोसँग खुम्चिन नपाउँदै त्यसमा भार पर्ने गरी जुरुक्क उठ्दा धेरै सुत्केरी महिलामा त्यस्तो समस्या हुनसक्छ ।’ डाक्टर पोखरेलले अस्पतालको प्रशासनको तर्फबाट कुनै लापरवाही नभएको र डाक्टर, नर्सिङ स्टाफहरु सुत्केरी महिला रहेकै स्थानमा निगरानी गरिरहेको अवस्थामै महिला बेहोस भएको र लगत्तै मृत्यु भएको बताए ।

तर विरामीका आफन्त राजु भुजेलले शल्यक्रिया गरेको भोलिपल्ट नै सुत्केरी महिलालाई उठेर हिंड्न लगाएको र त्यही क्रममा उठ्ने क्रममा सुत्केरी बेहोस भएको बताए । त्यसमा अस्पताल र डाक्टरहरुले निगरानी नगरेको उनको आरोप छ । सुत्केरीको मृत्यु भएपछि आक्रोसित आफन्तले शव बुझेर लैजाने तयारी भइरहेकै बेला आएको आफन्तहरुको अर्को समूहले अस्पताल प्रशासनसँग वार्ता गर्ने भनेको र त्यही वार्ताको क्रमममा मेसुमाथि आक्रमण भएको प्रहरी र स्वास्थ्यकर्मीको भनाइ छ ।

मृतककी दिदी चन्द्रा सिंजालीका अनुसार मृतक भवानीको स्वास्थ्यमा समस्या आएर आत्तिएको देखेपछि आइसियू भएको अर्को कुनै अस्पतालला रिफर गरिदिनका लागि उनले आग्रह गरिन् । तर अस्पतालका स्वाथ्यकर्मीहरुले बिरामीको श्रीमान आएर अनुमति नदिँदासम्म केही गर्न नमिल्ने भनेर उनको कुरालाई वास्ता गरेनन् ।

प्रदेश शिक्षा कार्यालय भैरहवामा कार्यरत भवानीका श्रीमान निशान थापा अस्पताल आउँदै थिए । ‘श्रीमानलाई मनाउने जिम्मा मेरो भयो, तर बिरामीलाई निकै गाह्रो भएको जस्तो छ । आइसियू भएको कुनै अस्पतालमा रिफर गरिदिनुस् भन्दा पनि उनीहरुले मेरो कुरै सुनेन्, मलाई समेत बाहिर निकालेर बिरामीसँग बस्न दिइएन ।’–मृतककी दिदी चन्द्राले घटनाको विवरण सुनाउँदै भनिन्,–‘मेरो कुरा उनीहरुले सुनेको भए सायद भवानीको ज्यान बच्न सक्थ्यो । बिरामीको मृत्युपछि अस्पतालले गरेको संवेदनहिन व्यवहारले हामीलाई थप दुःखित बनायो ।’

बिरामीलाई आईसियू भएको अस्पतालमा लैजान्छौं भन्दा श्रीमानको अनुमति माग्ने अस्पतालले मृत्युपछि शव हटाउन श्रीमानको अनुमति विनै अरु कसैको गोजीमा कागजात थमाउनुले पनि उपचारमा लापरबाही भएको कुरालाई पुष्टि गर्ने आफन्तहरुको दाबी छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार वार्ता भइरहेकै स्थानमा प्रहरी पनि रहेको र त्यही क्रममा बिरामीका आफन्तहरुले कुर्ची प्रहार गरेर मेसुलाई आक्रमण गरेको देखिएको छ । मेसुमाथि भएको कुटपिटको विरोधमा अस्पतालमा सेवा ठप्प भएको छ ।

मृतक सुत्केरीको शव अस्पताल परिसरको शव वाहनमा राखिएको छ । बच्चा प्रसुति कक्षको १४ नम्बर बेडमा शकुसल खेलिरहेका छन् । घटनापछि अस्पताल परिसरमा बाक्लो रुपमा सुक्षाकर्मी परिचालन गरिएको छ भने मूल गेटबाट सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

घटनापछि ओपीडी कक्ष बन्द गरिएको छ । दैनिक १५० देखि २ सयजनासम्म सेवाग्राही आउने अस्पतालमा सेवा बन्द गरिएको छ । अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरुको भने नियमित चेकजाँच तथा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्कस तथा कर्मचारीहरु पनि त्रसित अवस्थामा रहेको अस्पतालका मेट्रोन सुशिला विश्वकर्माले बताइन् ।

सुत्केरीको मृत्युपछि आफन्तहरुले परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् भने अस्पताल प्रशासनले छानविन समिति बनाएर छानविनपछि मात्रै अघि बढ्न सकिने अडान कायम राखेको छ ।

नेपाल चिकित्सक संघले दोषीलाई तत्काल पक्राउ गरी कानुन अनुसार कारवाहीको माग गरेको छ । संघले विज्ञप्तीमार्फत प्रहरीकै अगाडि कुटपिट गर्नु मानव अधिकारको जघन्य अपराध भएको जनाएको छ । महासचिव सन्तोष पोखरेलले दोषीलाई उनमूक्ती नदिन र कामको सहज वातावरण बनाउन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *