नागरिक केन्द्रित राज्य व्यवस्थाका लागि ‘नागरिक पहिलो’ अभियानको घोषणा (भिडिओ) – Nepal Press

नागरिक केन्द्रित राज्य व्यवस्थाका लागि ‘नागरिक पहिलो’ अभियानको घोषणा (भिडिओ)

काठमाडौं । नागरिक केन्द्रित राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको हो । आजसम्म राजनीति र राज्यको केन्द्रमा शासकहरु भएको र राजनीतिलाई सत्ता प्राप्तिको रुपमा मात्रै लिइएको भन्दै राजनीतिको केन्द्रमा नागरिकहरुलाई स्थापित गराउनका लागि अभियानको थालनी गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै नागरिक पहिलो अभियानका अभियन्ता केशव दाहालले आफूहरुको राजनीतिमा नागरिक पहिलो हुनुपर्छ भन्ने सिद्धान्तलाई स्थापित गरेर मात्रै देशको समस्याहरुको समाधान हुने विश्वासका साथ अभियानको घोषणा गरेको बताए । उनले नागरिक केन्द्रीत राज्य, नागरिक केन्द्रीत अर्थ व्यवस्था, नागरिक केन्द्रीत सामाजिक/आर्थिक प्रवन्ध र नागरिक केन्द्रित विदेश सम्बन्ध अभियानको केन्द्रीय दृष्टिबिन्दु भएको स्पष्ट पारे ।

उनले वर्तमान राजनीतिक संकट समाधानका लागि राजनीतिक पुनःगठन आवश्यक रहेको उल्लेख गर्दै राजनीति, विचार, संरचना, एजेण्डा र राजनीतिक संस्कृतिहरुको पुन?गठनमा नागरिक पहिलो भन्ने अवधारणा स्थापित हुनुपर्ने बताए ।

उनले सो अभियान एक स्वतन्त्र नागरिक अभियान भएको बताए । अभियानले अभियानमा सामेल भई देशको सार्वभौमसत्ताको रक्षा, सुशासन, समावेशिता, सामाजिक न्याय, आर्थिक विकास, समृद्धि र सहभागितामूलक लोकतन्त्रलाई संस्थागत गर्ने अभियानमा योगदान गर्न सबैमा अपील गरेको छ ।

दाहालको थप भनाइः

आजका सबैखाले राजनीतिक संकट र समस्या समाधानको पहिलो शर्त हो राजनीतिक पुनःगठन । विद्यमान राजनीति, राजनीतिक दल, विचार, एजेण्डा, नेतृत्व, राजनीतिक संस्कार र संस्कृतिमा परिवर्तन नगरीकन हामी एक पाइला अगाडी जान सम्भव छैन । जगजायर छ, राजनीति पद, प्रतिष्ठा र अवसरको खेती होइन । यो एक निष्ठा, सेवा र साधना हो ।

राजनीति राजनीतिककर्मीहरुको वृत्ति विकास होइन । जनताको जीवन र राष्ट्रको कार्यभारसँग जोडिएको हुनुपर्छ । अतः हामी राजनीतिकलाई विचार, निष्ठा र मूल्य, मान्यतासहितको एक संकल्प, एक प्रतिवद्धता र एक अभियान मान्दछौँ ।

हामी राजनीतिको केन्द्रमा नागरिक, नागरिक अधिकार, नागरिकका सपना र सन्तानको भविष्य सुनिश्चित हुनुपर्छ भन्ने ठान्दछौँ । अर्थात् नागरिक केन्द्रीत राज्य, नागरिक केन्द्रित अर्थ व्यवस्था र नागरिक केन्द्रित सामाजिक, आर्थिक प्रवन्धन र नागरिक केन्द्रित विदेश सम्बन्ध हाम्रो अभियानको र हाम्रो राजनीतिको केन्द्रिय दृष्टिबिन्दु हो । अहिलेसम्म राजनीति र राज्यको केन्द्रमा शासकहरु भए । सत्ता प्राप्ति नै राजनीतिको केन्द्र बन्यो ।

त्यसैले नागरिक सधैँ किनारमा परे । हामी राजनीतिको केन्द्रमा नागरिकलाई देख्न चाहन्छौँ । हामी राजनीतिमा नागरिक पहिलो हुनुपर्छ भन्ने ठान्दछौँ । र यो सिद्धान्तलाई स्थापित गरेर मात्र राजनीतिमा देखिएका समस्याहरुको निकास सम्भव छ भन्ने हाम्रो विश्वास छ । राजनीतिक संकट समाधानको लागि हाम्रो पहिलो प्रश्ताव हो राजनीतिक पुनःगठन । विचारको पुनःगठन, संरचनाहरुको पुनःगठन, नेतृत्वको पुनःगठन । एजेण्डाहरुको पुनःगठन । राजनीतिक संस्कृतिको पुनःगठन । र ति सम्पूर्ण चिजहरुमा नागरिक पहिलो भन्ने अवधारणाको स्थापना गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *