पोखरामा माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु – Nepal Press

पोखरामा माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु

पोखरा । पोखरामा पोखरा नेपाल माउन्टेन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सङले गरेका हुन् ।

प्रतियोगितामा सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर ४ विधामा प्रतिस्पर्धा भएको छ । सामूहिक प्रतिस्पर्धामा ४२ जना, व्यक्तिगत प्रतिस्पर्धामा ७६ र विद्यार्थी दौडमा ४ सय ३० बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ चार्टर विमानमार्फत पोखरा आएका हुन् ।

चिनियाँ राजदूत छन् सङले प्रतियोगिताले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने बताए । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताले पोखरालाई देशविदेशमा चिनाउन र खेल पर्यटनको विकासमा समेत सघाउने विश्वास व्यक्त गरे ।

‘यस प्रकारको दौड प्रतियोगिताले खेल र पर्यटन क्षेत्रको विकासमा उत्तिकै योगदान पुग्नेछ’, उनले भने ।

दौड, साइक्लिङ र डुंगा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । सामूहिक विधातर्फको विजेताले ३ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । द्वितीयले २ लाख ८८ हजार, तृतीयले २ लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले १ लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला, पुरुषले जनही १ लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले १ लाख ८ हजार, तृतीयले ५४ हजार र चौथोदेखि सातौँसम्मको १८ हजार र दसौँसम्मका धावकले ९ हजार रुपैयाँ पुरस्कार पाउने छन् । लेक साइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसेखोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचीबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।

५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताका विजेता छात्र–छात्राले जनही २५ हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार, सान्त्वनाले १० हजार र पाँचौँले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर