सबै कम्युनिष्ट एक भए पनि अब कांग्रेसले कसैसँग गठबन्धन गर्दैन: महामन्त्री थापा – Nepal Press

सबै कम्युनिष्ट एक भए पनि अब कांग्रेसले कसैसँग गठबन्धन गर्दैन: महामन्त्री थापा

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतालाई व्यवस्थाप्रति बितृष्णा जगाएर ऋण मिनाहाको नाममा राजनीतिक कुरा गरेर पुरानै व्यवस्था ठीक थियो भन्नु उनीहरुलाई ढाँटेर रमाउनू मुर्खताबाहेक अरु केही नहुने बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा शुक्रबार कांग्रेसको प्रथम जिल्लासभालाई सम्बोधन गर्दै थापाले पुरानो व्यवस्था ठीक थियो भनेर आन्दोलन गर्नु मूर्खतापूर्ण हुने टिप्पणी गरेका हुन् ।

व्यवस्थाप्रति शंका र उपशंका भए सबै मिलेर सुधार गरेर जानुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘गल्ती भएका छन्, सुधार्ने हो । तर, योभन्दा राम्रो गर्नुपर्छ भन्नुपर्ने ठाउँमा पहिलेकै व्यवस्था यो भन्दा राम्रो थियो, असल थियो, त्यो दिन पो ठीक थियो भन्यो भने त्यो भन्दा ठूलो मूर्खता केही पनि हुँदैन ।’

उनले सबै कम्युनिष्ट पार्टी एक बनेर आए पनि कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन नगर्ने स्पस्ट पारे ।

‘देशभरका पार्टीहरुसँग भन्नैपर्छ, चुनाव हारे हारिएला, मञ्चबाट झरेर चकटीमा बस्नु परे बसौला, दुई चुनाव हार्न परे पनि हारौला, अब नेपाली कांग्रेस एक्लै चुनाव लड्छ । कांग्रेसका कार्यकर्ताले रुखभन्दा अन्य चिन्हमा भोट हाल्नुपर्दैन । सत्तामा नपुगे नपुगिएला । कांग्रेसले अब यो भन्ने हिम्मत गर्नुपर्छ’, थापाले भने ।

देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पार्टी कांग्रेसमात्र भएको उनको दाबी थियो ।

संघीय मर्म र भावनाअनुसार प्रदेश सरकार र स्थानीय तहलाई अधिकार दिन नसक्दा संघीयतामाथि प्रश्नचिन्ह खडा भएको उनको भनाइ थियो ।

‘नेपालमा एउटै मान्छे ४-५ पटक प्रधानमन्त्री किन बन्नुपर्छ ? सबै प्रधानमन्त्री बनेका मान्छे बसेर देश डुब्यो भनेर चिन्ता गरेको देख्छु । नेपालका प्रधानमन्त्री र भूतपूर्व प्रधानमन्त्रीले अब उप्रान्त प्रधानमन्त्री नहुने प्रतिबद्धता व्यक्त गरे भने पनि देशमा राजनीतिक समस्याको समाधान हुन्छ’, महामन्त्री थापाले भने, ‘एमाले, माओवादी, राप्रपालगायत अहिले आएका सबै दलहरु कांग्रेसको प्रतिस्पर्धीमात्रै हो, हाम्रो दुश्मन देशको गरिबी र बेरोजगारी हो । नेपाली कांग्रेसले संकल्प गर्नुपर्छ । कांग्रेस हामी बदल्छौ । बदलिएको कांग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठुलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली कांग्रेस लाग्नुपर्छ ।’

ज्ञानेन्द्रकै सहयोगमा गणतन्त्र आएको हो: चन्द्र भण्डारी

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजा ज्ञानेन्द्रकै सहयोगमा नेपालमा गणतन्त्र आएको बताए ।

‘जनआन्दोलनको समयमा राजा ज्ञानेन्द्र थिए । ज्ञानेन्द्रले गणतन्त्र आउन दिँदैन भनेर हतियार लिएको भए २-४ सय मानिस मर्ने थिए । मानिस मर्न थालेपछि कम्प्रमाइज हुन्थ्यो । तर, राजाले त्यो गरेनन् । राजदण्ड र श्रीपेच बुझाएर गए । सरकारले राजालाई नागार्जुनमा बस्न भनेर पठायो । उनी मन्दिर जाने, पूजा गर्ने राम्रो काम हो । राजाले गणतन्त्र ल्याउन कोसिस नगरेको भए रक्तपात हुन्थ्यो’, नेता भण्डारीले भने ।

उनले युवाहरुको बढ्दो विदेश पलायन रोक्न सबै लाग्नुपर्ने बताए । ३६५ दिन भाषण गर्न पनि हिँड्ने, कांग्रेसको झण्डा पनि बोक्ने, चुनावको समयमा अरुलाई भोट दिने परिपाटीले कांग्रेस कमजोर भएको उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, नैनसिंह महर, लुम्बिनी प्रदेशका सभापति अमर पुनलगायतले शुभकामना मन्तब्य राखेका थिए ।


प्रतिक्रिया

One thought on “सबै कम्युनिष्ट एक भए पनि अब कांग्रेसले कसैसँग गठबन्धन गर्दैन: महामन्त्री थापा

  1. काँग्रेसभित्र कुनै हैसियत नभएकोले ट्याउँ ट्याउँ बोलेर अर्थ छैन । तिमीले यसो हुनुपर्छ, यसो हुनु हुँदैन भनेको कुरा सुन्ने काँग्रेसमा तिमी आफैं बाहेक कोही देखिदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर