बुढानीलकण्ठमा पाँच दिन विशेष हरिबोधनी एकादशी मेला हुने – Nepal Press

बुढानीलकण्ठमा पाँच दिन विशेष हरिबोधनी एकादशी मेला हुने

काठमाडौं । राजधानीस्थित बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ देखि ११ गतेसम्म विशेष हरिबोधनी एकादशी (तुलसी विवाह) मेला हुने भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाले आज पत्रकार सम्मेलनमार्फत मेलाको लागि सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो ।

मेला व्यवस्थापन गर्न मेयर मिठाराम अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । उपमेयर अनिता लामाको संयोजकत्वमा अनुगमन तथा अतिथि सत्कार उपसमितिसँगै १३ वटा विषयगत उपसमिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।

नपाका अनुसार मेला व्यवस्थित रुपमा सञ्चालन गर्न सार्वजनिक यातायात मन्दिरको मूल गेट (बसपार्क)बाटै फर्किने व्यवस्था गरिएको छ । रिजर्भ गरिएको साना तथा ठूला यातायातका साधन तथा निजी सवारीहरुलाई विष्णुमतीतर्फ पठाउने व्यवस्था गरिएको छ ।

मेला तथा दर्शनार्थीहरुलाई मन्दिरको दक्षिणतर्फको मुख्य प्रवेशद्वारबाट प्रवेश गरी दर्शन गरेपश्चात् पूर्वबाट निस्कने व्यवस्था गरिएको मेयर अधिकारीले जानकारी दिए । उनका अनुसार दर्शन गर्न स्थानीय स्वयंसेवकहरुले सहजीकरण गर्नेछन् । अशक्त, अपाङ्गता भएका असहाय तथा ज्येष्ठ नागरिकलाई सुरक्षित तवरबाट दर्शन गराउने व्यवस्था गरिएको छ ।

पार्किङको रुपमा कसैले पनि कुनै स्थानमा शुल्क उठाउन निषेध गरिएको नपाले जनाएको छ ।

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ ।सनातन धर्मअनुसार आषाढ शुक्ल एकादशीदेखि सुतेर भगवान विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ ।

परापूर्वकालदेखि नै निरन्तर रुपमा प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरबाट लाखौं भक्तजन आउने गर्छन् ।

यसैलाई मध्यनजर गर्दै बुढानीलकण्ठ नगरपालिकाले हरिबोधनी एकादशीको दिन स्थानीय बिदासमेत घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *