आगलागीका गम्भीर घाइतेलाई बीएण्डसी अस्पतालले बन्धक बनायाे : सांसद गाैतम – Nepal Press

आगलागीका गम्भीर घाइतेलाई बीएण्डसी अस्पतालले बन्धक बनायाे : सांसद गाैतम

झापा । कोशी प्रदेश सांसद उमाकान्त गौतमले झापाको विर्तामोडमा रहेको बीएण्डसी अस्पतालले उर्लाबारी आगलागी घटनामा गम्भीर घाइते भई जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको दाबी गरेका छन् ।

कोशी प्रदेशसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका १० जना बिरामीलाई अस्पतालले एक दिन बन्धक बनाएको आरोप लगाएका हुन् ।

बीएण्डसी अस्पताल दुर्गा प्रसाईंको हो । अस्पतालले बन्धक बनाएका कारण थप उपचारका लागि काठमाडौं पठाउन एक दिन ढिलो भएको उनले बताए । थप उपचारमा लैजान ढिलो भएकै कारण एक जनाको मृत्यु भएको सांसद गौतमको दाबी छ ।

कात्तिक २६ गते उर्लाबारी नगरपालिका- ७ इटहरा रोडमा दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा आगलागी निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।

घाइतेमध्ये उर्लाबारी- ७ का ४३ वर्षीय तपन पण्डितको कीर्तिपुरस्थित बर्न हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका उनलाई तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल पठाइएको थियो । कात्तिक २६ गते राति १० बजे भएको आगलागीमा परी घाइते भएकामध्ये १८ जनालाई विराटनगर र १० जनालाई बीएण्डसी अस्पताल पठाइएको थियो ।

भोलिपल्ट गम्भीर प्रकृतिका २४ घाइतेलाई काठमाडौं पठाउन नेपाली सेनाको जहाज मगाइएको थियो । बीएण्डसी अस्पतालले रेफर नदिएपछि विराटनगरबाट १४ जना घाइतेलाई मात्रै काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको थियो ।

गम्भीर घाइतेलाई एक दिनपछि मुख्यमन्त्री केदार कार्कीले आफैं बीएण्डसी अस्पताल पुगेपछि मात्र रेफर दिएको थियो । त्यसपछि भद्रपुर विमानस्थलबाट नेपाली सेनाको जहाजमा गम्भीर घाइते थप १० जनालाई काठमाडौं लगिएको थियो ।

अस्पतालले बन्धक बनाएका घाइतेलाई मुख्यमन्त्री पुगेपछि मात्रै थप उपचारका लागि काठमाडौं पठाइएको सांसद गौतमले बताए । प्रदेश सरकार र उर्लाबारी नगरपालिकाले उपचारका लागि त्यहाँ लागेको खर्च भुक्तानी दिने प्रतिबद्धता जनाउँदा पनि पैसा भुक्तानी गरेपछि मात्र रेफर दिने भन्दै अस्पतालले बिरामी रोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *