सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल – Nepal Press

सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चिनियाँ राजदुतबीच सडक पूर्वाधार निर्माण एवं लगानीबारे छलफल भएको छ ।

सोमबार चेम्बर पदाधिकारी र चिनियाँ राजदुतबीचको भेटवार्ता कार्यक्रममा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण एवं लगानीबारे छलफल भएको हो । जहाँ चेम्बरले सीमा क्षोत्रमा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि आग्रह गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत सोङ्गसंग दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्वन्धमा छलफल भएको चेम्बर अध्यक्ष मल्ले बताए । राजदूत सोङ्गसंगको भेटवार्तामा भेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चीनसंग ब्यापार खाडल उच्च रहेको भन्दै नेपाली बस्तुको निर्यात वृद्धिका लागि पहल गर्न समेत आग्रह गरे ।

‘चीन नेपालको मुख्य ब्यापारिक साझेदारी राष्ट्र हो, दुई देशको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर ब्यापार सहजीकरण गर्न आवश्यक छ । स्फ्रुबेसी केरुङ सडक निर्माणका लागि पहल गर्न पनि आग्रह गर्दछु, अध्यक्ष मल्ले भने, ‘नेपालले चीनबाट वार्षिक २ खर्व २२ अर्व रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने १ अर्व ७६ करोड रुपैयाँ हाराहारीमा गर्दै आएको छ ।’

नेपालको जलविद्युत, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न अध्यक्ष मल्लले राजदूत सोङ्गसंग आग्रह गरे । भने, दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधी बढाउन समेत उनले आग्रह गरे । नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्नका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

भेटवार्ताका क्रममा राजदूत सोङले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाई छ ।

नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत सोङले विद्युतीय सवारी साधनहरुलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिए । साथै, नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै उनले यसलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर