पूर्वराजालाई भेटेर गृह जिल्ला हान्निए राजेन्द्र लिङ्देन, ९ गते के हुँदैछ झापामा ? – Nepal Press

पूर्वराजालाई भेटेर गृह जिल्ला हान्निए राजेन्द्र लिङ्देन, ९ गते के हुँदैछ झापामा ?

‘गणतन्त्रवादीको मुटु चस्किने गरी’ पूर्वराजाको झापा भ्रमण सफल पार्ने राप्रपाको तयारी

काठमाडौं । १२ दिन लामो अमेरिका भ्रमणबाट फर्किए लगत्तै गत बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरे । नियमित भेट भनिए पनि कुराकानीको अन्तर्वस्तु विशेष थियो ।

पूर्वराजासँग भेटे लगत्तै लिङ्देन हतारिएर हिजो आफ्नो गृह जिल्ला झापातिर लागेका छन् । उनी तिहार मनाउन होइन, राजनीतिक प्रयोजनले झापा गएको स्रोतले बताएको छ । उनले पार्टीको आसन्न केन्द्रीय समितिको बैठकसमेत पर सारेका छन् ।

राप्रपा उच्च स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र आउँदो ९ मंसिरमा झापा जाने कार्यक्रम तय भएको छ । यो भ्रमणलाई विशेष र सफल बनाउन लिङ्देन जुटेका छन् ।

झापाको बिर्तामोडस्थित एक विद्यालयमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । दुई वर्षअघि नै व्यक्तिगत स्तरमा निर्माण गरिएको भए पनि यसलाई अहिलेसम्म छोपेर राखिएको थियो ।

पूर्वराजाले सो विद्यालयमा पुगेर शालिक अनावरण गर्नेछन् । भ्रमणको मुख्य कार्यक्रम यो हो । शालिक अनावरणपश्चात् स्थानीय जनतासँग पूर्वराजाले भेटघाट गर्नेछन् ।

पूर्वराजाको यो भ्रमणमा ‘गणतन्त्रवादीको मुटु चस्किने गरी’ व्यापक जनलहर सिर्जना गर्ने तयारीमा राप्रपा जुटेको छ । लिङ्देन आफैँले यसको नेतृत्व लिएका छन् । आफ्नो गृह जिल्ला भएकाले उनले यसलाई व्यक्तिगत प्रतिष्ठाकै विषय बनाएको निकट स्रोत बताउँछ ।

पूर्वराजासँग भेटेकै दिन बिहीबार दिउँसो दुई बजे राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा अध्यक्ष लिङदेनले पूर्वराजासँग भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए र झापामा तय भएको कार्यक्रमबारे जानकारी दिएका थिए । भेटमा राजसंस्थाको पक्षमा बन्दै गएको माहोल तथा आगामी रणनीतिका बारेमा समेत छलफल भएको उनले बताए ।

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ९, १० र ११ गतेका लागि बोलाइएको थियो । लिङदेन झापा जाने भएपछि सो बैठक पुस १, २ र ३ गतेलाई सारिएको छ ।

झापा पुग्नासाथ लिङदेनले कार्यकर्ताहरूलाई पूर्वराजाको भ्रमणको तयारीमा जुट्न निर्देशन दिइसकेका छन् । तिहारको अवसरमा हिजो आयोजित शुभकामना कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् ।

लिङ्देनले पार्टी पंतिलाई भने, ‘राप्रपाले पूर्वराजाको झापा भ्रमणलाई उच्च महत्त्व दिनुपर्छ । यो हाम्रो लागि गौरवको कुरा पनि भएकाले कुनै पनि कमी महसुस नहोस ।’

यता, नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले गणतन्त्र उल्टाउने भन्दै मंसिर ७ गते काठमाडौंमा कार्यक्रम राखेका छन् । तर, ९ गते पूर्वराजा झापा जाने भएपछि उनको कार्यक्रम प्रभावित बन्न सक्ने देखिएको छ । प्रसाईँले आफ्नो गृह जिल्ला झापाबाट मानिसहरू काठमाडौं ओसार्ने तयारी गरिरहेका छन् । ९ गते पूर्वराजा नै झापा आउने भएकाले प्रसाईँलाई अप्ठेरो पर्न सक्ने स्रोत बताउँछ ।

व्यवसायी प्रसाईँले जतिसुकै चर्का कुरा गरिरहे पनि पूर्वराजाले भने संगठित र बलियो राजनीतिक शक्तिका रूपमा राप्रपालाई नै भर गरेको संकेत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर