पाकिस्तान र अफगानिस्तानको ढुकढुकी बढाइरहेको न्युजिल्यान्ड-श्रीलंका भिडन्त – Nepal Press

पाकिस्तान र अफगानिस्तानको ढुकढुकी बढाइरहेको न्युजिल्यान्ड-श्रीलंका भिडन्त

नयाँ दिल्ली। एकदिवशीय विश्वकपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा बिहीबार साबिक उपविजेता न्युजिल्यान्डले श्रीलंकासँग खेल्दै छ। यो खेललाई अफगानिस्तान र पाकिस्तानले समेत नियालिरहेका छन् ।

प्रतियोगितामा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तानमध्ये एक टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम खेलमा पाकिस्तानले इङ्गल्यान्ड र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्ने छ ।

न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानको ८ खेलबाट समान ८ अंक छ। तर नेट रनरेटमा न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौँ र अफगानिस्तान छैटौँ स्थानमा छ ।

न्युजिल्यान्डले श्रीलंकासँग जितेर पनि सेमिफाइनलमा स्थान पक्का गर्ने छैन अनि हारेर पनि सेमिफाइनल नपुग्ने पक्का हुने छैन । तर श्रीलंकालाई हराएको अवस्थामा न्युजिल्यान्डको अगाडि बढ्ने सम्भावना अन्य दुई टोलीको तुलनामा बढी हुने छ ।

न्युजिल्यान्डले जितेको अवस्थामा पाकिस्तान र अफगानिस्तानले आ-आफ्ना खेल जितेर मात्र पुग्दैन नेट रनरेटमा न्युजिल्यान्डलाई पछाडि समेत पार्नुपर्ने छ । न्युजिल्यान्डले श्रीलंकासँग हारेको अवस्थामा पाकिस्तानको सम्भावना तुलानात्मक रुपमा बलियो हुने छ ।

नेटरनरेटमा अफगानिस्तानभन्दा राम्रो अवस्था रहेकाले पाकिस्तानले इङ्गल्यान्डलाई हराउन सकेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउने छ । त्यस अवस्थामा अफगानिस्तानले आफ्नो खेल जितेर मात्र पुग्दैन नेटरनरेटमा पाकिस्तानलाई पछाडि पार्नुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर