पहलमानपुर कपडा बैंकले भूकम्प पीडितको लागि न्यानो लुगा हस्तान्तरण गर्ने – Nepal Press

पहलमानपुर कपडा बैंकले भूकम्प पीडितको लागि न्यानो लुगा हस्तान्तरण गर्ने

कैलाली । जाजरकोटका भूकम्प पीडितहरूका लागि कैलाली स्थित पहलमानपुर कपडा बैंकले न्यानो लुगा उपलब्ध गराउने भएको छ । आज कपडा बैङ्कका संयोजक निर्मल मिश्र सहितको टोलीले कैलालीबाट न्यानो लुगा लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् ।

भूकम्प प्रभावितहरूको लागि तत्काल ८२ थान कम्मल, ज्याकेट स्विटर लगायतका न्यानो लुगा उपलब्ध गराउने उद्देश्य रहेको कपडा बैङ्कका संयोजक मिश्रले बताए । उनले भोली जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई ती न्यानो लुगा हस्तान्तरण गर्ने बताए ।

‘हामीले पीडितहरूको लागि संकलन गरेका न्यानो लुगा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्छौ’ उनले भने ‘प्रजिअबाटै पीडितहरूले न्यानो लुगा पाउनु हुनेछ । ’

शुक्रबार राति ११ः४७ जाजरकोट स्थित बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित भएको छ । भूकम्पले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान सम्म भूकम्पले क्षति पुर्याएको छ ।

अहिले जाजरकोटमा खुल्ला आकाशमुनि भूकम्प पीडितले रात काट्न बाध्य छन् । तत्कालको लागि भूकम्प पीडितहरूलाई केही राहत हुन सक्ने भन्दै आफूहरूले न्यानो लुगा उपलब्ध गराउन लागेको मिश्रले बताए ।

मिश्रले यस अघि पनि दुखी, गरिब र विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *