भूकम्प प्रभावितको एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन – Nepal Press

भूकम्प प्रभावितको एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । भूकम्पले पुर्‍याएको क्षतिका सन्दर्भमा तत्काल घाइतेको उद्धार एवं शीघ्र र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार बसेको बैठकले भूकम्प प्रभावितलाई तत्काल राहत र पुनःस्थापना कार्यमा राज्यका सबै शक्ति परिचालन गरी प्रभावकारी रुपमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो ।

भूकम्पको क्षतिउपर राहत एवं पुनःस्थापना गर्ने कार्यमा सम्पूर्ण स्वदेशी तथा विदेशी दातृ निकाय, राज्यका सबै तह, निकाय, संघ–संस्था एवं सम्पूर्ण नागरिकलाई सहयोगका लागि एकजुट हुन समितिले अनुरोध गरेको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।

उनका अनुसार समितिले अहिलेसम्म सहयोग गर्ने व्यक्ति तथा निकायलाई धन्यवाद पनि ज्ञापन गरेको छ ।

समितिले कात्तिक १७ राति जाजरकोट केन्द्र भई गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा व्यापक जनधन र पूर्वाधारको क्षति पुर्‍याएकोमा दिवंगत व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समितिले समवेदना प्रकट गरेको छ । त्यस्तै समितिले भूकम्पमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *