जनयुद्ध दिवस मनाउने निर्णय सहिद, बेपत्ता र घाइतेप्रति उच्च सम्मान : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

जनयुद्ध दिवस मनाउने निर्णय सहिद, बेपत्ता र घाइतेप्रति उच्च सम्मान : प्रधानमन्त्री प्रचण्ड

रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्ने बताएका छन् ।

बिहीबार दिउँसो बाफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धासँग अन्तरक्रिया गर्दै उनले सत्य निरूपण तथा बेपत्तासम्बन्धी विधेयक टुंग्याउन सरकारले पहल गरिरहेको बताए ।

प्रचण्डले भने, ‘गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ । महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन । तसर्थ, यो परिवर्तनको हकदार तपाईँहरू हुनुहुन्छ ।’

यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेको भन्दै उनले फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न आफू पनि रुकुम आएको बताए ।

कांग्रेस र एमालेलगायतका दलका शीर्ष नेताले ‘जनयुद्ध दिवस’ मा दिइएको बिदाको विरोध गरिरहेको बेला प्रचण्डले त्यसको बचाउ गरे ।

उनले भने, ‘फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो । यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ । यो सहिदहरूप्रति उच्च सम्मान हो ।’

प्रधानमन्त्रीले थपे, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ । यो विधेयक टुंगिएपछि जनयुद्धको परिपूरण, सम्मान, परिचयपत्रलगायतका काम सम्पन्न हुन्छन् । सहिद पार्कहरू, स्तम्भहरू बन्छन् । यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ । मासिक भत्तालगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ ।’


प्रतिक्रिया

One thought on “जनयुद्ध दिवस मनाउने निर्णय सहिद, बेपत्ता र घाइतेप्रति उच्च सम्मान : प्रधानमन्त्री प्रचण्ड

  1. काम गर्ने विदेशीको दलाली । अरू जे मनाए पनि दलाल गर्नेको काम छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर