‘भ्रम फैलाउनेलाई सरकारले दण्डित गरोस्, मुख्य नेतृत्वविरुद्धका आपराधिक प्रहारको प्रतिवाद गर्न एमाले पंक्ति संकल्पबद्ध छ’ – Nepal Press

‘भ्रम फैलाउनेलाई सरकारले दण्डित गरोस्, मुख्य नेतृत्वविरुद्धका आपराधिक प्रहारको प्रतिवाद गर्न एमाले पंक्ति संकल्पबद्ध छ’

उपाध्यक्ष विष्णु पौडेल भन्छन्- एमालेलाई कमजोर पार्न मुख्य नेतृत्वमाथि प्रहार गर्ने नीतिअनुसार अध्यक्ष ओलीविरुद्ध नियोजित रुपमा भ्रामक र लाञ्छनायुक्त प्रचार गरिँदैछ, अपराधीमाथि कारबाही गर्ने सरकार नै यस्तो अपराध कर्मको मतियार भनेर बुझ्नेछौं

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गर्ने तथा चरित्रहत्याको खेती गर्नेमाथि कानूनबमोजिम कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने अपराधकर्ममा संलग्नहरुलाई दण्डित नगरे सरकारको नियतमाथि प्रश्न उठ्नेसमेत बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै उपाध्यक्ष पौडेलले भने, ‘राष्ट्रको स्वाभीमान, जनताको समृद्धि र सामाजिक न्यायको निम्ति उचाइबाट नेतृत्व गर्नुभएको हाम्रो पार्टी अध्यक्षविरुद्ध जुन जुन प्रकारले नियोजित प्रहार र भ्रामक प्रचारबाजी गरिएको छ, यस्ता अपराधकर्ममा संलग्नलाई सरकारले दण्डित गरोस् । यदि सरकारले त्यस्ता व्यक्ति र आपराधिक जत्थालाई कारबाहीको दायरामा ल्याएन भने सरकार स्वयम् यस्तो अपराधकर्मको मतियार हो भनेर बुझ्नुपर्ने हुन्छ ।’

पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेकोलगायतका आरोप लगाएका छन् । ओली नेतृत्वमा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतीय मिडियाले ३ वर्षअघि प्रसारण गरेको फेक रिपोर्टलाई उद्धृत गर्दै प्रसाईंले ओलीमाथि आरोप लगाएका भिडिओहरु भाइरल छन् ।

याे पनि पढ्नुस् : दुर्गा प्रसाईँले ओलीविरुद्ध किन लिए ३ वर्ष पुरानो गोदी मिडियाको ‘फेक रिपोर्ट’ को सहारा ?

एमालेले प्रसाईंको भ्रमपूर्ण अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै कानूनबमोजिम कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएको छ । ओलीले गणतन्त्र र धर्मनिरपेक्षको विकल्पमा अहिले कोही जान नसक्ने भन्दै राजतन्त्र फर्किन सम्भव नरहेको अभिव्यक्ति दिएपछि राजावादीहरुले नियोजित आक्रमण थालेको एमालेको दाबी छ ।

उपाध्यक्ष पौडेलले भने, ‘अहिले देशलाई अस्थिरता र द्वन्द्वमा लैजान खोज्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले एमालेलाई कमजोर पारेरमात्र आफ्नो अभिष्ट पूरा हुने देखेका छन् । एमालेलाई कमजोर पार्न अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्नुपर्छ भन्ने उनीहरुको बुझाइ हो र हाम्रो नेतृत्वविरुद्ध चरित्रहत्याको प्रयास तिनीहरुले थालेका छन् । एमालेलाई कमजोर पार्ने र अन्ततः राष्ट्र र जनताको हितलाई अवरोध गर्ने षडयन्त्र हामीले बुझेका छौं । नेकपा एमालेको समस्त पंक्ति, आम नेपाली जनता यस्ता प्रायोजित भ्रमहरु चिर्न, त्यस्ता षड्यन्त्रकारीलाई परास्त गर्न र पार्टीको मुख्य नेतृत्व अध्यक्ष कमरेड केपी ओलीको रक्षा गर्न सक्षम छन् । सबै प्रकारका लाञ्छना र प्रहारलाई परास्त गर्दै अविचलित भएर अघि बढ्न हामी संकल्पबद्ध र सक्षम छौं ।’

उपाध्यक्ष पौडेलले एमालेलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विगतमा पार्टीभित्रैका अवसरवादी र स्वार्थी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरेकोसमेत बताए । सबै प्रकारका षड्यन्त्रहरु असफल भएपछि पार्टीको मुख्य नेतृत्वमाथि प्रहार केन्द्रित गरिएकोसमेत उनले बताए ।

पौडेलले भने, ‘विगतमा पनि कहिले हामीभित्रैका स्वार्थी र अवसरवादी तत्वहरुलाई प्रयोग गरेर विभाजनको प्रयास गरिए । कहिले राज्यशक्ति र सत्ताको दुरुपयोग गरेर एमालेविरुद्ध प्रहार भए । कहिले हाम्रा नेताहरुको चरित्रहत्या गर्न प्रायोजित र झूट प्रचार गरे । यही सिलसिलामा अहिले हाम्रो अध्यक्षका विरुद्ध जुन प्रकारको लाञ्छनायुक्त भ्रामक प्रचार गर्दैछन्, तिनीहरुलाई कारबाही गरिएन भने एमालेले प्रतिवाद गर्नेछ ।’

उपाध्यक्ष पौडेलले केपी ओलीको नेतृत्वमा एमाले अझ बढी एकताबद्ध र बलियो बनेर अघि बढेपछि मूल नेतृत्वमाथि प्रहार गर्न योजनाबद्ध र संगठित प्रयास भइरहेको समेत बताएका छन् । पौडेल दशैंको दिन ओलीसँगै झापामा थिए ।


प्रतिक्रिया

One thought on “‘भ्रम फैलाउनेलाई सरकारले दण्डित गरोस्, मुख्य नेतृत्वविरुद्धका आपराधिक प्रहारको प्रतिवाद गर्न एमाले पंक्ति संकल्पबद्ध छ’

  1. नेकपा एमालेको बिरूद्धमा सरकार उसका समर्थक पार्टी नेै अनेक बखेडाका साथ भ्रमको खेती गर्दै छ उसले जातिधर्म क्षेत्रमा साम्प्रदायिक र अनेक खालका प्रोपोगन्डा चलाउदै छ के को अनुरोध ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर