समाजवादी जागरण अभियान- केही आशा, केही विश्वास – Nepal Press

समाजवादी जागरण अभियान- केही आशा, केही विश्वास

नेकपा एकीकृत समाजवादीको ‘समाजवादी जागरण अभियान – २०८०’, असोज १४ गते देखि पूर्व मेची नदीको किनारबाट सुरू भएर देशको दक्षिणी भू-भागका सबै जिल्लाहरू हुँदै सुदूरपश्चिमतिर लाग्दैछ । पूर्वप्रधानमन्त्रीद्वय क. माधव नेपाल र क. झलनाथ खनालको अगुवाइमा सुरू अभियान अहिले पश्चिम नेपालमा वृहत् सभाहरु गर्दै करिब १३०० किमि यात्रामा निरन्तर अगाडि बढिरहेको छ । सयौँ नेता कार्यकर्तासहित देशव्यापीरूपमा हुँदै गरेको यो अभियानवर्तमान राजनीतिक सन्दर्भमा विभिन्न हिसाबले महत्त्वपूर्ण छ ।

२०७९ सालको स्थानीय, प्रदेश तथा संघको चुनावमा पुराना राजनितिक दलप्रतिको वितृष्णा मुख्यरूपले प्रकट भयो । कारण जुनसुकै होस् तर पुराना राजनीतिक दलले जनअपेक्षा अनुरूप डेलिभरी गर्न नसक्नुले उक्त वितृष्णा पैदा गरेको सरसरी बुझ्न सकिन्छ । राजनीतिमा त्यही वितृष्णा चर्काएर घण्टीको उदयमात्र भएन अन्य प्रतिगामी शक्तिहरू पनि उपद्रो अवस्थामा देखिए । त्यतिमात्र होइन नेपाली सहिष्णु समाजको नयाँ मोडेललाई समेत चुनौती दिँदै धार्मिक, जातिय तथा साम्प्रदायिकजस्ता अतिवाद अनेकन रूप धारण गरी समाजमा श्रृङ्खलाबद्ध रूपमा प्रकट हुन थाले । रोजगारी, विकास, समृद्धि, सुशासन अग्रगमन बहसबाट नेपाली समाज अलग गर्दै विभाजन द्वन्द्व र अनुत्पादक बहसतिर समाजलाई धकेल्ने प्रयास निरन्तर भइरहेको छ । यसलाई तुरुन्तै सच्चाउन आवश्यक ठानेर नेकपा एकीकृत समाजवादीले रोजगारी, विकास निर्माण, सुशासन, समृद्धिलगायत सिङ्गो नेपाली समाजलाई अझै अग्रगतिको बाटोमा कसरी डोहोऱ्याउन सकिन्छ भनेर बहसको सृष्टि गर्‍यो । समाजवादी जागरण अभियान त्यसैको एक कसी हो । मुलतः यो अभियान राष्ट्रव्यापीरूपमा समाजवादको बहस छेड्ने र वैज्ञानिक समाजवादको आधार तयार गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।

नेपाली राजनीतिप्रति जनतामा भएको निराशावादी चिन्तनको हावी, वितृष्णा र गैरराजनीतिक सोच-चिन्तनहरूलाई परास्त पार्दै आशा जगाउन र राजनैतिक कोर्सलाई प्रतिगमनतिर फस्नबाट जोगाएर अग्रगमनको बाटोमा हिँडाउन यो यात्राले खास महत्त्व बोकेको छ । नेपालको राजनीतिक उपलब्धिलाई बचाएर थप उपलब्धि हासिल गर्न संविधानले मार्गनिर्देश गरेअनुसारको समाजवादी कार्यदिशा, कार्यक्रमहरू जनताको बीचमा सरकारले लैजानु अनिवार्य थियो । तर, संविधान निर्माणपछि बनेका सबैजसो सरकारले व्यक्तिवादलाई प्रश्रय दिँदै गए, जनताका अपेक्षाहरूलाई पूरा गर्न सकेनन, सुशासन, रोजगारी, समृद्धिको सपनालाई साकार पार्न सकेनन् । जसका कारणले जनतामा राजनीतिप्रति विश्वास गुम्दै गयो र हाम्रो व्यवस्थाका उपलब्धिमाथि समेत गम्भीर प्रश्न उठाउने दुस्साहस गर्न थालियो ।

हजारौं सहिदको बलिदान र लाखौंको संघर्षले स्थापित सत्ताले जन अपेक्षाअनुसार काम गर्न नसक्नुका अनेक कारण मध्ये हाम्रो राजनीतिले सहि कोर्ष पक्डिन नसक्नु मुख्य हो । यो मेची-महाकाली समाजवादी जागरण अभियान नेपाली राजनीतिले पक्डिन नसकेको कोर्षलाई करेक्सन गर्ने एक महत्त्वपूर्ण अध्याय हुने निश्चित छ । हाम्रो राजनीतिले छुटाएका विषयहरू जस्तो रोजगारी, विकास, समृद्धिसँगै कम्युनिस्ट आन्दोलनमा देखा परेका दक्षिणपन्थी, अवसरवाद र अराजकतावादविरुद्ध संघर्ष गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक सैद्धान्तिक मार्गमा हिँडाउने प्रयासस्वरूप गरिएको यो अभियानलाई जनताले उत्सवको रूपमा लिएका छन् ।

राजनीतिमा व्यक्तिवाद, अराजकरावाद, भ्रष्टाचार, अनियमितता, दलाल पूँजीवादी प्रभाव, नोकरशाही तन्त्र, ठालुपन हावी हुँदै जाने तथा राजनीतिप्रतिको निष्ठा, विचार, आदर्श घट्दै जाने परिस्थिति एउटा लोकतान्त्रिक देशको लागि पक्कै पनि सहज परिस्थिति होइन । अहिले मुलुकको राजनीतिले मुख्यरूपमा यही परिस्थितिलाई झेलिरहेको छ । त्यसकारण पनि राजनीतिमा मूल्यमान्यतालाई पुनर्जागृत गर्नु र सही मार्गमा हिँडाउनु आधारभूतरूपले अनिवार्य भइसकेको छ । राजनैतिक कोर्षलाई सच्याउन नेताहरू जनतासँग प्रत्यक्ष जानुपर्छ अर्थात् जनता-नेताबीचको दूरी घटाउनुपर्छ । यो अभियान त्यस्तै एउटा राजनितिक कोर्स करेक्सन गर्न र जनतामा आशा जगाउने हिसाबले आयोजना गरिएको लामो यात्रा हो ।

पूर्व प्रधानमन्त्रीद्वय क. माधव नेपाल र झलनाथ खनाल, मन्त्रीहरू र सांसद, पूर्वमन्त्रीलगायत सयौं नेता र हजारौं कार्यकर्तासहित जनताका घरघरमा पुगेर गुनासो सुन्ने, हिजो गरेका कमीकमजोरीलाई सच्याउने, जनअपेक्षा बुझने, नयाँ मुद्दा ग्रहण गर्ने र नया संकल्पसहित अगाडि बढ्नका लागि यो यात्राले अहम भूमिका खेलेको छ । नयाँ आयामहरूलाई राजनीतिमा समेटेर जनताका अपेक्षाअनुसारको विचार, कार्यक्रम निर्माण गर्दै जातीयता, धार्मिक वा अन्य कम महत्त्वका विषयमा राजनीतिलाई अड्किन नदिई रोजगारी, विकास, समृद्धि र समाजवाद विचारको बीउ रोप्ने काम यो यात्रामा भइरहेको छ ।

राजनीतिको आदर्शप्रति धावा बोल्दै सिद्धान्तविहीन राज्य निर्माणको कोसिस गरिरहेका प्रतिगामीहरू सलबलाइरहेको अवस्थामा लोकतन्त्रको जरालाई अझै मझबुद गराउदै मलजल गर्नु र राजनीतिमा अग्रगमनलाई स्थापित गर्दै उपलब्धिमूलक बनाउँदै हाम्रो अभियान जनतासम्म पुग्नुपर्ने आवश्यकता छ । राजनीतिक अविश्वासलाई चिर्दै आशा जगाउने र नयाँ आयामहरूलाई राजनीतिमा मुद्दाको रूपमा स्थापित गर्दै समाजवादको लक्ष्यलाई साकार बनाउन यो यात्रा अझै नियमित हुनुपर्छ ।

राजनीतिमा पलाएको वितृष्णाले राजनीतिबाट टाढा भाग्न खोजेको नयाँ पुस्तालाई आशा जगाउने काम यो यात्राले गरिरहेको छ । अग्रगामी विचारमाथिको चौतर्फी घेराबन्दीलाई चिर्दै दर्शन, आदर्श, मूल्यमान्यतामा कटिबद्ध नैतिकतासहितको राजनीति स्थापित गर्न यो जागरण अभियानले महत्त्वपूर्ण भूमिका खेलेको छ । साथै पार्टीको जीवनमा नयाँ रक्तसञ्चार भर्न तथा जनताको आवाजमा ऐक्यबद्धता जनाउने कोणबाट पनि अभियानको खास अर्थ छ । राजनीतिक दलले पहिलो पटक समाजवादको बहस छेड्ने अभियानकै रूपमा देशभर जनतामाझ पुगेको यो पहिलो जागरण अभियान राजनैतिक जगतमा नयाँ कोर्सको थालनी हुने विश्वास गर्न सकिन्छ ।

(लेखक पराजुली नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *