शेयर कर्जाको क्याप माथि लगेपछि बढ्ला त बजार ? लगानीकर्ताहरु भन्छन्- सीमा आवश्यक नै छैन – Nepal Press

शेयर कर्जाको क्याप माथि लगेपछि बढ्ला त बजार ? लगानीकर्ताहरु भन्छन्- सीमा आवश्यक नै छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाएको छ । राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गर्दै शेयर धितो कर्जामा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाएर १५ करोड पुर्‍याएको छ । संस्थागतर्फ भने यस्तो सीमा २० करोड पुगेको छ ।

शेयर लगानीकर्ताले शेयर कर्जातर्फ १२ करोडमै क्याप लगाइएकाले शेयर बजार बढ्न नसकेको गुनासो गर्दै आएका थिए । अहिले सीमा बढाइएसँगै शेयर धितो कर्जा बढ्ने लगानीकर्ताहरुको विश्वास छ । तर, राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार भने चलाएको छैन ।

मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएको छ । ५० लाखभन्दा माथिको शेयर धितो कर्जाको जोखिमभार भने १५० प्रतिशत छ ।

५० लाखसम्मको कर्जाको जोखिम भार कम हुँदा कर्जा बढे पनि ५० लाखभन्दा माथिको कर्जा उल्लेख्य रुपमा नबढ्ने जानकारहरु बताउँछन् । जोखिम भार नघटाएर कर्जाको सीमामात्रै बढाउँदा बजार धेरै माथि जान नसक्ने उनीहरुको भनाइ छ ।

जोखिम भार धेरै भएको ठाउँमा बैंक तथा वित्तीय संस्थाले समेत लगानी गर्न चाहँदैनन् । साउनसम्मको डाटा हेर्दा पनि जोखिम भार नघटेसम्म ५० करोडभन्दा माथिको कर्जा नजाने देखिएको छ । साउनमा ५० लाखसम्मको शेयर धितो कर्जा १० प्रतिशतले बढ्दा ५० लाखभन्दा माथिको कर्जा घटेको देखिन्छ ।

पछिल्लो समय लगानीकर्ताले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउन दबाब दिँदै आएका थिए । शेयर कर्जाको क्यापले बजार बढ्न नसकेको उनीहरुको गुनासो थियो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक रुपमा शेयर बजार चलायमान बनाउने गरी नीति ल्याउने बताउँदै आएका थिए । तर, राष्ट्र बैंकले शेयर बजार कर्जामा भने लचिलो नीति ल्याएको थिएन । अहिले राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा बढाए पनि शेयर धितो कर्जामा सीमा नै आवश्यक नरहेको लगानीकर्ताहरुको भनाइ छ ।

नेपालको पूँजी बजारको लागि सीमा नै आवश्यक नरहेको शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुलेलले बताए ।

‘शेयर कर्जा हिजो जसरी १२ करोडमा बाँधिएको थियो, त्यसलाई थोरै लचिलोमात्रै बनााएको छ । यसले बजारमा सकारात्मक सन्देश दिन्छ’, उनले भने, ‘तर, लगानीकर्ताहरुले शेयर कर्जा व्यक्तिगतको हकमा १५ करोड र संस्थागतको हकमा २० करोड बनाउनु भनेका होइनन् । लगानीकर्ताको माग भनेको संस्थागततर्फको क्याप हटाउने र व्यक्तिगततर्फको सीमा जति हुन्छ बढाउने भन्ने हो ।’

तर, राष्ट्र बैंकले आफ्नो तर्फबाट थोरै लचिलो बनाउने कोसिस गरेकालाई नराम्रो पनि भन्न नमिल्ने उनको भनाइ छ ।

‘हिजो शेयर बजारको सीमा तोकिँदा उत्पादकत्वमा कति वृद्धि भयो ? कति कलकारखाना मौलाए ? नेपाल कति समृृद्ध भयो ?’, उनले भने, ‘शेयर कर्जालाई बाँधेर कृषि अथवा अन्य व्यवसायले कति छलाङ मार्‍यो ? यस्ता विषयले अर्थतन्त्रमा उल्टै प्रभाव पारेको देख्न सकिन्छ ।’

राष्ट्र बैंकले बढाएको शेयर धितो कर्जाको सीमाले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास रहेको लगानीकर्ता डुपेन्द्र भट्टराई बताउँछन् ।

‘व्यवहारिक रुपमा हेर्दा धितो कर्जा सीमा राख्नुहुँदैन । कुनै व्यक्तिसँग एक अर्ब शेयर रहेको छ भने ५० करोड वा ६० करोड ऋण लिन पाउनुपर्छ’, उनले भने, ‘यहाँ कुनै दुईचार ठाउँमा भएका व्यक्तिले यसको दुरुपयोग गरेकाले सबैतिर नराम्रो सुनिएको हो । वास्तवमा कुनै सीमा आवश्यक नै देखिँदैन । सबैले स्वतन्त्र रुपमा लगानी गर्न पाउनुपर्छ । भोलि कसैले गलत गरिरहेको छ भने धितोपत्र बोर्ड छ । बोर्डले अनियमितता रोक्न सक्नुपर्छ ।’

शेयर धितो कर्जालाई व्यक्तिगततर्फ सीमा कायम गरे पनि संस्थागतर्फ सीमा नरहे उचित हुने भट्टराईको भनाइ छ । उनका अनुसार शेयर बजारबाहेक अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ र विकल्प छैन । शेयर बजारले अर्बाैं हुनेदेखि हजार रुपैयाँ हुनेसम्मलाई समेटेको छ ।

शेयर बजार चलायमान हुनेवित्तिकै सबैतिर यसले सकारात्मक प्रभाव पार्ने र आर्थिक गतिविधि बढ्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *