जीबी राई समूहको सहकारीको बदमासी : १ अर्ब ११ करोड ठगी, १९ जनाविरुद्ध मुद्दा – Nepal Press

जीबी राई समूहको सहकारीको बदमासी : १ अर्ब ११ करोड ठगी, १९ जनाविरुद्ध मुद्दा

१८ जना अझै फरार, १ जनाविरुद्ध आइतबार अदालतमा थुनछेक बहस

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते सूचना जारी गर्दै सूर्य दर्शन सहकारी विरुद्ध उजुरी दिन आह्वान गर्‍यो । सूचनाअनुसार बचत रकम हिनामिना गरेको भन्दै पदाधिकारी तथा पूर्व सञ्चालकविरुद्ध १ हजार ३६ जनाले उजुरी दिए ।

सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा उक्त सहकारीबाट १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको भेटेको छ । सोही निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि सहकारीका पूर्व र वर्तमान पदाधिकारी तथा सञ्चालकहरुविरुद्ध बिहीबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ जनालाई विपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको थियो । सोहीअनुसार सरकारी वकिल कार्यालय कास्कीले बिहीबार १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

८ देखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गराएको सरकारी वकिल कार्यालयका कास्कीका जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले जानकारी दिए । विपक्षी बनाइएका १९ मध्ये एकजना पक्राउ परिसकेका छन् । उनीविरुद्ध आइतबार थुनछेक बहस हुने ढकालले सुनाए ।

प्रहरीले केही दिनअघि सहकारीको ठगीसम्बन्धी घटनामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए ।

सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर कहीँ सेयरमा लगानी गरेको त कतै प्राइभेट फर्महरूमा लगानी गरेका पाइएको डीएसपी विकले जानकारी दिए ।

बचतकर्ताको उजुरीका आधारमा गत भदौ २४ गते सहकारीका पूर्वसञ्चालक गितेन्द्रबहादुर (जीबी) राईसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुजी जारी भएको थियो । त्यसको २ दिनपछि सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । त्यसपछि दोस्रो पटक थप १२ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएका सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनका दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा फरार छन् ।

वर्तमान तथा पूर्व सञ्चालक सुरज श्रेष्ठ, कैलाश दर्लामी, धीरजकुमार दास, प्रमोद भट्टराई, मनोज नकर्मी, भविश्वर अर्याल, आइस्मा गुरुङ, हेमन्त अधिकारी, कविता तामाङ, सागर केसी, शिवबहादुर गुरुङ, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ पनि पक्राउ पुर्जीपछि फरार छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी विक पक्राउ पुर्जी जारी भएकाहरूलाई खोजी भइरहेको बताउँछन् ।

‘पक्राउ पुर्जी जारी भएका १ जना पक्राउ परेर अनुसन्धानकै क्रममा हुनुहुन्छ भने बाँकीको खोजी तीव्र पारिएको छ । कतिपय व्यक्तिहरू कास्कीबाहिर भएकाले खोजी गर्न केही कठिनाइ भएको हो । सम्बन्धित जिल्ला, पालिका र वडामा पत्राचार समन्वय भइराखेको छ,’ उनले भने ।

पोखरामा जीबी राई समूहले २०६५ सालमा खालेको सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ । सहकारीबाट सबैभन्दा धेरै जीबी राईको दाजुभाइकै कार्यकालमा अपचलन भएको निष्कर्ष छ ।

जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख, जीबीका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख, संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजनको पालामा १९ करोड १८ लाख र थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको देखिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत भदौ १० गते विशेषज्ञ समिति गठन गरेको थियो । उक्त अध्ययन टोलीले प्रतिवेदनसमेत तयार पारिसकेको छ । सो प्रतिवेदनअनुसार सुरुदेखि नै सहकारीको रकम अन्य क्षेत्रमा लगाउँदै आएको देखिएको छ ।

जीबी दाजुभाइकै कार्यकालमा ठूलो रकम अपचलन भएकोसमेत प्रतिवेदनमा उल्लेख छ । सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको प्रतिवेदनको ठहर छ ।

कुनै स्वार्थ समूहले अपचलन गर्न लगानी गरेको हो भन्न सक्ने अवस्था देखिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी किरण कोइराला बताउँछन् ।

‘सहकारीको ऐन नियम विपरीत लगानी गरेको हुनाले त्यसलाई खराब कब्जाभन्दा पनि कुनै स्वार्थ समूहले अपचलन गर्न लगानी गरेको हो भन्न सक्ने अवस्था देखिन्छ । सहकारीको नियमअनुसार सहकारीको सञ्चालक समिति, सञ्चालक समितिको अध्यक्ष, कोषाध्यक्ष व्यवस्थापक यसको बढी जिम्मेवारी हो,’ उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर