इजरायलमा हामी भयानक युद्धको घेरामा छौँ, सबै नेपालीको सुरक्षाका लागि प्रार्थना गरौँ (भिडिओ) – Nepal Press

इजरायलमा हामी भयानक युद्धको घेरामा छौँ, सबै नेपालीको सुरक्षाका लागि प्रार्थना गरौँ (भिडिओ)

सामाजिक सञ्जालमा अपुष्ट भिडिओ र फोटोहरू राख्दा इजरायलमा कार्यरत ३ हजार नेपालीका नेपालमा रहेका परिवारलाई असर पर्ने भएकाले कृपया आधिकारिक कुरा मात्र शेयर गर्नुहोस्

इजरायल । म इजरायलको राजधानी जेरुसेलमबाट करिब एक घण्टा टाढा किरियात मलाखी भन्ने ठाउँमा छु । म यहाँको एउटा नर्सिङ होममा काम गर्छु । दुवै सरकारबीचको सम्झौता अनुसार म यहाँ काम गर्न आएकी हुँ ।

म नेपालमा पनि करिब डेढ दशक पत्रकारिता गरेर यहाँबाट समेत नेपाल प्रेसको लागि समाचार र लेखहरूमार्फत काम गरिरहेकी छु । यहाँ आजदेखि युद्धको घोषणा भएको छ ।

बाहिरको अवस्था निकै आतंकपूर्ण छ । मैले यस्तो युद्ध पहिलो पटक देख्दै छु । यहाँ बाहिर गोलाबारी र बमको आवाज आइरहेको छ । यहाँ सात आठ वटा नर्सिङ होममा कार्यरत साथीहरूलाई एकै ठाउँमा राखिएको छ ।

इजरायलमा करिब २५ सयदेखि ३ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान छ । म युद्ध घोषणापछि यहाँको नेपाली दूतावास र गैर आवासीय नेपाली अगुवाहरूसँग नियमित सम्पर्कमै छु । विशेष गरी नेपालीहरूको अवस्था कस्तो छ भन्नेबारे ।

प्रारम्भिक जानकारी अनुसार म बसेको ठाउँभन्दा आधा घण्टा टाढा आस्केलन भन्ने ठाउँमा ९ जना जति नेपाली घाइते भएको जानकारी दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले दिनुभएको छ । दूतावासले सबैको जानकारी आधिकारिक रूपमा लिने प्रयास गरिरहेको छ ।

घाइते भएका भनिएका साथीहरू आस्केलनमा एउटा कृषि फार्ममा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत आएको भनिएको छ । अरू पनि केही ठाउँमा नेपाली हताहत भएको जानकारी आए पनि आधिकारिक रूपमा पुष्टि नगरी हामीले केही भन्न सकिएन ।

यहाँ युद्ध निकै ठूलो छ । नेपालीहरू विभिन्न ठाउँमा काम गरिरहेकाले सबैको बारेमा जानकारी लिन सकिएको छैन ।

दूतावासले समेत कम्पनीहरूमार्फत जानकारी लिन खोजे पनि उनीहरू समेत ती ठाउँमा जान सक्ने अवस्था छैन । कुनै अप्रिय घटना नेपालीहरूमाथि नहोस् भन्ने कामना गर्नुबाहेक अरू कुनै उपाय यहाँ छैन ।

निकै बीभत्स ढंगले मान्छेहरू मारिएका तस्बिर तथा भिडिओहरू पनि आइरहेका छन् । यो युद्ध निकै वर्षपछिको ठूलो मानिएको छ । नेपालीहरू काम गर्ने ठाउँमा पनि हमला भएका छन् । उनीहरू जताततै हिंस्रक ढंगले प्रवेश गरिरहेका छन् ।

यहाँको सरकारले युद्ध घोषणा गरेर जवाफी कारबाही गरिरहे पनि शहरभित्र आतंकवादीहरु घुसेका छन् । हामी सकेसम्म सुरक्षित स्थानमा छौँ । यो अवस्था कायमै रहेमा नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि समन्वय गर्ने अपेक्षा हाम्रो छ ।

यहाँको सुरक्षा फौजका कमान्डर नै अपहरणमा परेका छन् । यहाँभित्र ठूलो संख्यामा हमासका लडाकु घुसेको कुरा प्रधानमन्त्री नेतान्याहूले नै बताइसकेका छन् । समुदायभित्रै घुसेर हमला भएकाले हताहतीको संख्या निकै ठूलो हुनसक्छ ।

प्यालेस्टिनी पक्षले डेढ सयभन्दा बढी मारिएको र एक हजार जति आफ्नो कब्जामा रहेको दावी गरेका छन् । उनीहरूले कब्जामा लिएर भिडिओ तथा फोटो सार्वजनिक भएका अनुहार हेर्दा अन्य देशका नागरिक पनि परेका छन् ।

यस्तो बेलामा विभिन्न खालका भिडिओ फोटो र अफवाहहरू सामाजिक सञ्जालमा आइरहेका छन् । कृपया आधिकारिकताबिनाका त्यस्ता सामग्रीहरूलाई भाइरल गर्दा नेपालमा रहेका घर परिवारका सदस्यहरूलाई असर पर्छ । त्यसैले आधिकारिकताबिना कुनै सामग्री प्रचार प्रसार नगर्न पनि आग्रह छ ।


प्रतिक्रिया

One thought on “इजरायलमा हामी भयानक युद्धको घेरामा छौँ, सबै नेपालीको सुरक्षाका लागि प्रार्थना गरौँ (भिडिओ)

  1. संयुक्त राष्ट्र संघले ईजरायललाई तुरून्त लडाई बन्द गर भनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर