कृष्ण केदेमको संस्मरणको संगालो ‘एउटा गाउँले ठिटो’ सार्वजनिक – Nepal Press

कृष्ण केदेमको संस्मरणको संगालो ‘एउटा गाउँले ठिटो’ सार्वजनिक

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक कृष्ण केदेमको जीवन अनुभूतिको संगालो ‘एउटा गाउँले ठिटो’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी लुमुम्बू, दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राई, प्राज्ञ नन्दु उप्रेती र लेखक स्वयंले संयुक्तरूपमा उक्त किताब सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै अश्कले साहित्यमा कथा लेखिन्छ, कथामा सर्वनाम पात्र राखेर लेख्न सकिन्छ र कथा काल्पनिक हुन्छ्, कसैसँग मेल खाएमा संयोग मात्र हुन्छ भनेर उम्कन मिल्न सकिने भए पनि अनुभूति तथा संस्मरण विधामा भने लेखकको नितान्त आफ्नो कथा हुने बताए ।

दर्शनशास्त्री तथा संस्कृतिविद् डा. भक्त राईले साहित्यको निबन्ध विधाभित्र संस्मरण, नियात्रा आदि पर्ने बताउँदै निबन्ध विधामा कलम चलाउनु साहित्यभित्रको सशक्त विधामा लेख्नु रहेको बताए । प्राज्ञ नन्दु उप्रेतीले केदेमको किताबले ताप्लेजुङदेखि विश्वका विभिन्न ठाउँ घुमाएको बताए ।

लेखक केदेमले आफ्नो जीवनको भोगाइमात्रै नभएर विदेशमा देखेको, सिकेको कुरालाई नेपालमा के कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पनि किताबमा उल्लेख गरेको बताए ।

संगीतकार वसन्त मुकारुङ, साहित्यकार प्रेम रिबुसाल राई, गायक दीपक लिम्बू, किरात याक्थुङ चुम्लुङ काठमाडौंका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेलगायतको उपस्थिति थियो ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको ३२० पृष्ठको पृष्ठको किताबको मूल्य ५९५ राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *