बेचिसकेको घर गुण्डा लगाएर कब्जा, घरधनीलाई उल्टै मिटरव्याजीको आरोप – Nepal Press

बेचिसकेको घर गुण्डा लगाएर कब्जा, घरधनीलाई उल्टै मिटरव्याजीको आरोप

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् ।

स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् ।

घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका थिए । गिरीले भाडामा बस्ने व्यक्तिलाई समेत भगाएकी छन् । साहले प्रहरी प्रशासनबाट आफूले सहयोग नपाएको तर उल्टै पीडक गिरीलाई सहयोग गरेको आरोप लगाए ।

जबरजस्ती घरमा आएर बस्न थालेकी गिरीले उल्टै पटक पटक धम्की दिएको साहले सुनाए । उनले भने, ‘म २०६५ सालमा गिरीबाटै घरजग्गा खरिद गरेको थिएँ । ब्याजमा ऋण कहिल्यै दिएको छैन । तर, आज मिटरब्याजीको हल्ला चलेपछि त्यसको आडमा मलाई मिटरब्याजी भन्दै घरजग्गा कब्जा गरेर बसेकी छन् ।’

२०६५ सालमा २५ लाख रुपैयाँमा १२ घुर ५ कनमा जग्गा गिरीबाट खरिद गरेको साहले सुनाए । उनले भने, ‘त्यतिबेला १३ लाख ७० हजार २०० रुपैयाँ मूल्यांकन गरी मेरो श्रीमतीको नाममा घरजग्गा रजिस्ट्रेसन पास भयो’, जग्गाको लालपुर्जा देखाउँदै साहले भने, ‘अहिले पनि श्रीमतीकै नाममा घरजग्गा रहेको सबै प्रमाण छ ।’

घरजग्गा पास गरेको केही दिनमै गिरीले लफडा गरेको उनले गुनासो गरे ।

‘घरजग्गा खरिद गरेर सुखभोग गर्न थालेपछि गिरीले आफूमाथि प्रहरीमा उजुरी दिएकी थिइन्’, उनले थपे, ‘प्रहरीले मलाई बोलायो । त्यहाँ गएर बुझ्दा ३ लाख ३० हजार रुपैयाँ बाँकी रहेको र नदिने गरेको भन्दै गिरीले उजुरी दिएछन् । सबै रुपैयाँ दिइसक्दा पनि उजुरी दिएपछि म आश्चर्यमा परें । तर पनि प्रहरीले मबाट ३ लाख ३० हजार रुपैयाँ उनलाई दिन लगायो । त्यतिबेला अब कुनै लेनदेन नरहेको लिखित सहमतिसमेत प्रहरीमा भएको थियो ।’

सावित्रीले लेनदेन नरहेको भन्दै हस्ताक्षर गरेकाे कागज ।

लेनदेन नरहेको सहमति भएको १५ वर्षसम्म गिरी चुपचाप थिइन् । तर, मिटरब्याजसम्बन्धी विधेयक आएपछि उनले घरजग्गा फर्काउन साहलाई मिटरब्याजी बनाएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइन् । निवेदन परेपछि साहलाई धनुषाका सीडीओले छलफल गर्नसमेत बोलाएका थिए ।

साह भन्छन्, ‘म मिटरब्याजी कसरी भएँ ? कानून एक जनाको लागि मात्र छ । मलाई मिटरब्याजी बनाएर उजुरी दर्ता गराइयो । मैले जिल्ला प्रशासन कार्यालयमा सबै प्रमाण पेश गरेको छु । सीडीओ साहेबले समेत तपाईंविरुद्ध केही प्रमाण छैन, बोलाएको बेला आउनु होला भनेर पठाउनुभएको छ ।’

कानूनविपरीतका कुनै काम नगरे पनि अहिले कमजोर ठानेर जबरजस्ती गिरीले घर कब्जा गरी बसेकी साहले दुःखेसो पोखे । उनले प्रश्न गरे, ‘अरुको घरमा प्रवेश गर्नु अपराध होइन र ? म यो देशको नागरिक हैन ? ममाथि अन्याय गर्नेलाई प्रहरीले किन कारबाही गर्दैन ?’

प्रहरीकै बलमा गिरीले आफ्नो घरमा जबरजस्ती पकब्जा गरेको साहको आरोप थियो । उनका अनुसार गिरीले आफ्नो घरजग्गा कब्जा गर्न प्रहरीमात्रै होइन, दर्जनौं गुण्डा पालेका छन् ।

प्रहरी र प्रशासनबाट न्याय नपाएपछि अदालत जाने तयारीमा रहेको उनले बताए ।

सावित्री गिरी

गिरी जनकपुर बृहतर परिषद्की कर्मचारी हुन् । साहको घरमा पुग्दा उनी कोठामा ताला लगाएर बाहिर गएकी थिइन् । घर कब्जाबारे जानकारी लिन उनलाई सम्पर्कको प्रयास गर्दा हुन सकेन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सावित्री गिरीले रामबाबु साहमाथि मिटरब्याजीसम्बन्धी निवेदन दिएको र फछ्र्योट नभएको बताए ।

निवेदन फर्छ्योट नभएको अवस्थामा घरमा जबरजस्ती प्रवेश गरी बस्न मिल्छ भन्ने जिज्ञासामा उनले भने, ‘यो जिम्मा प्रहरीलाई दिएका छौं । म कार्यालयमा व्यस्त छु । प्रहरीसँगै बुझ्नुस् ।’

यता, धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले रामबाबु साहको घर सावित्री गिरीले कब्जा गरेर बसेको थाहा नभएको बताए ।

मिटरब्याजसम्बन्धी विवाद उनीहरुबीच रहेको र यसबारे थप कुरा जिल्ला प्रशासन कार्यालयबाटै बुझ्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर