औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने सीएमए संघको माग – Nepal Press

औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने सीएमए संघको माग

रुपन्देही । नेपाल सीएमए संघले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी दिएको छ । उनीहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेका सीएमएले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् ।

नेपाल सीएमए संघ जिल्ला कार्यसमिति रुपन्देहीको पाँचौं जिल्ला अधिवेशनमा उनीहरूले औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका हुन् । सरकारी स्वास्थ्य संस्थाबाट औषधि वितरण गर्न पाउने तर निजी क्लिनिकबाट औषधि वितरण गर्न नपाउनु दुःखद भएको उनीहरूको भनाइ छ ।

केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले माग सम्बोधन गर्न आन्दोलन र अदालती प्रक्रियालाई सँगसँगै लैजाने बताए । उनले मर्यादाभित्र रहेर क्लिनिक सञ्चालन गर्न पाउनुपर्ने माग गरे ।
देशको ८० प्रतिशत स्वास्थ्य सेवा सिएमएले धानेको भन्दै उनले भने, ‘देशमा महामारी फैलिँदा सिएमए अग्रपंक्तिमा रहेर काम गर्दै आएको हो, तर जिम्मेवारी खोस्न खोजिएको छ ।’

त्यस्तै संघका केन्द्रीय सदस्य जनकराज पन्तले सीएमए पद नभइ उपाधि भएको बताए ।

उनले भने, ‘अहेव पद हो । उठाएका माग सम्बोधन गराउन लाग्छौं । अब चुप लागेर बस्दैनौं ।’

भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्दप्रसाद गुप्ताले कोभिड-१९ मा सीएमएलगायत स्वास्थ्यकर्मीको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।

उनले भने, ‘अधिकार पाउनका लागि लड्नुपर्छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले स्वास्थ्यकर्मीप्रति गरिएको दुर्व्यवहार निन्दनीय भएको बताए । उनले सीएमए संघले उठाएको उचित माग सम्बोधन गर्नुपर्ने बताए ।

अधिवेशनले पुनः शशीकान्त उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *