अनि वर र पीपलका बोट जोडिए – Nepal Press
सन्दर्भ: कुशे औंसी

अनि वर र पीपलका बोट जोडिए

यो घटना हुँदा नेपालमा भर्खर-भर्खर बहुदलीय व्यवस्था आएको थियो । त्यतिबेला रेडियोमा बहुदलबारे खुब समाचार सुनिन्थे । मसँग पनि एउटा रेडियो थियो । तर, खोलेपछि त्यो स्याँ….मात्र गर्थ्यो । बेलाबेलामा ठोकठाक पनि पार्थें । मिस्त्री भइटोपलेको । तर पनि त्यसले समाचार भन्न सकेन ।

आफ्नो रेडियोले समाचार भन्न नसके पनि समाचार सुन्न भने छाडिएन । कहिले पल्लाघर नरहरि दाइकोमा त कहिले कता ! सम्भव भएसम्म रेडियो नेपालबाट आउने साँझ ७ बजेको समाचार र त्यसपछि आउने घटना र विचार कार्यक्रम छुटाइएन ।

सोह« श्राद्धको समय हुनुपर्छ । अन्य दिन झैं त्यस दिन पनि साँझ ७ बजेको रेडियो नेपालको समाचार र घटना र विचार सुनिसकेपछि घरमा आएर खाना खाएँ । केटाकेटी सानै थिए । कान्छी छोरी शोभा त जन्मेकै पनि थिइन । मनमा तर्कना थियो– भोलि धेरैवटा श्राद्ध भ्याउनुपर्ने छ । मिर्मिरे उज्यालोमै हिँड्नुपर्छ । पुग्नुपर्ने बेताली अनि नमाडी । पुगेरमात्र भएन । विधि पु¥याएर श्राद्ध पनि गर्नु छ । बेताली मास्टर बाको घरमा । मास्टर बाका नामले चिनिने बेतालीका इन्द्रप्रसाद घिमिरे स्कुलका मास्टरमात्र नभएर कर्मकाण्डका घगडान गुरु पनि । त्यस्ता घगडानको पुरेत चाहिँ म । साँच्चै भन्नुपर्दा मलाई कर्मकाण्ड सिकाउने मेरा बा खडानन्द पोखरेलपछि उहाँ नै हो । म उहाँको पुरेत थिएँ । तर, उहाँ मेरो गुरु हुनुहुन्थ्यो ।

सोच्दा–सोच्दै निदाएछु । तर, तर्कनाले होला निद्राले छिट्टै छाडेछ । यसो बाहिर निस्कें, अनि शुक्र तारा कता पुग्यो भनेर आकाशतिर अलिक गौर गरेर हेरें । किनकि मलाई रात कति बाँकी छ जान्नु थियो । तर, तारा नियाल्नै सकिनँ । सायद कुनै बादलको टुक्रोभित्र लुकेको थियो ।
सोचें, अब उज्यालो हुन लागिसक्यो, लाग्नुपर्छ । बाटो लामो छ । होला ५ किलोमिटर त । मनले हिँड भनिसकेको थियो । ज्यानले कति समय अड्याउन सक्थ्यो र अनि लागें बेतालीतर्फ ।

सूर्यको उज्यालो आउला भनेको त शहरे गाविसमा पर्ने अर्खौले कटिसक्दा पनि जूनको उज्यालो पो चहकिलो भएर आउँछ बा… । ४ पो भर्खर बज्यो कि के हो, फेरि अर्को लख काटें । शहरे डाँडा अनि शहरे डाँडामुनिको जङ्गल कटेर पल्लो कल्लेरीको पीपलबोट पुगिसकें । जून झन् टहटह हुँदै गइरहेको छ । अब चाहिँ ‘अलिक राति नै हिँडे कि के हो कामको तर्कनाले’ भन्ने मनमा आयो ।

सोचें, एकछिन यतै आराम गर्छु । तर, निद्रामा परेका मान्छेलाई बोलाउन मन लागेन । हरेक घरको बाहिरै खाट छँदै थिए । अनि हरेक घरधनी चिनैकै थिएँ । पल्लो कल्लेरीको पीपलबोटभन्दा तल बाटामुनि पर्ने घरको खाटमा ढल्किएँ । निद्रा त के पर्थ्यो !

बाटोमा खिम्ती खोला । खिम्ती खोलाको चोरसाँघुमा पुग्दा चाहिँ उज्यालो भइदिए हुन्थ्यो भन्ने लागेको थियो । सायद डर लागेर होला ।

म झर्दैछु खिम्ती खोलातिर । जङ्गलको बीचमा जूनको उज्यालोको कामै नहुने । रूखको छायाँले मात्रै हैन, आफ्नै छायाँले पनि बाटो छेक्थ्यो घरी-घरी । तर पनि गोडालाई बानी परिसकेका थिए बाटो ठम्याउन । आँखाको भन्दा पनि खुट्टाको भर बढी थियो मलाई । चिनेको बाटो भएकाले अन्दाजमा खुट्टा टेक्दा पनि फेल खाँदैनथ्यो ।

कति पो बस्नु अर्काको घरमा । त्यो पनि चूपचाप । एउटा लौरो भाँचें अनि बाटो तताएँ । पांग्रे खोलाको छहरोले साउन-भदौको भन्दा सानो आवाज निकाल्न थालेको भए पनि रातमा त्यसको आवाज पनि कम्ती भयानक सुनिएन ।

साँघुरो अनि काइ परेको बाटो । बाटोभन्दा केही मिटरमात्रै माथि करिब १०० मिटर माथिबाट पांग्र्रे खोला हाम फाल्छ । त्यसपछि त्यो खोलो म भएतिरै आउँछ । अनि फेरि अन्दाजी १२० मिटर तलतिर हाम फाल्छ । २ वटा छहराको बीचमा छु म । त्यसमाथि अलिक तल खिम्ती खोलाको गर्जनसहितको सुसाहट । मन एकतमासको भो, नआत्तिए पनि ।

पांग्रे खोला गड्गडाएपछि कति पटक धेरै घण्टा खिम्ती खोला र पांग्रे खोलाबीचको जङ्गलमा रोकिएको छु म । तर पनि यो खोलाको मलाई माया छ । यहाँ आएपछि मेरो बाटा आधा हुन्थ्यो । यहाँ आएपछि अब त आइपुगी हालियो नि घर भन्नेखालको भाव जागृत हुन्थ्यो ।

अँ, सालको जङ्गल । साना र ठूला पोथ्राहरू । तल खिम्ती खोला उसैगरी सुसाइरहेको छ । म झर्दैछु खिम्ती खोलातिर । जङ्गलको बीचमा जूनको उज्यालोको कामै नहुने । रूखको छायाँले मात्रै हैन, आफ्नै छायाँले पनि बाटो छेक्थ्यो घरी-घरी । तर पनि गोडालाई बानी परिसकेका थिए बाटो ठम्याउन । आँखाको भन्दा पनि खुट्टाको भर बढी थियो मलाई । चिनेको बाटो भएकाले अन्दाजमा खुट्टा टेक्दा पनि फेल खाँदैनथ्यो ।

खिम्ती खोला पनि पुगियो । अहिले चोरसाँघु भनेर चिनिने शहरे र बेतालीको सीमा क्षेत्रमा पर्ने सो नदी खण्डमा अहिले जस्तो फलामे झोलुङ्गे पुल थिएन त्योबेला । काठको पुल थियो । त्यो पनि केही फ्ल्याकले बनाइएका । असाध्यै कामचलाउ खालका । कामचलाउ नै सही तर मेरो सबैभन्दा बढी काम यसैबाट चलेको थियो ।

कहिले ओरालोको पालो त कहिले उकालोको । खिम्ती खोलाबाट उकालो सुरु भयो । करिब २० मिनेट जति जङ्गलको उकालो हिँडेपछि बन्चरेको लामाटार आउँछ । लामाटार लमतन्न परेर सुतेको अनि खिम्ती खोला र हलुवा खोलाको खोंचभन्दा ठ्याक्कै माथिको समथर चौर हो । लामो अनि टार परेको जग्गा भएकाले त्यसलाई लामाटार भनिएको होला । ‘लामाटार पुगेपछि जङ्गलको बाटो सकिन्छ’, यस्तै सोच्दै थिएँ ।

उकालो चढ्न सुरु के गरेको थिएँ, सल्याङ्ग-बल्याङ्ग आवाज ठोक्कियो कानमा । आवाज आएको दिशातर्फ हेरें । मान्छे हिँडिरहेका । मभन्दा करिब १०० मिटर जति माथि । लाग्यो, अब चाहिँ उज्यालो भएछ । मान्छे हिँड्न लागिसकेछन् । कताका मान्छे रहेछन् ! अघि माथिबाट झर्दा त देखिएका थिएनन् । झर्ने बाटो त एउटैमात्र हो । नजिकै अर्को गाउँ पनि छैन ।

त्यो समयमा अचम्मै भो । म अघि बढ्दैछु, तर म हिँड्ने बाटो ढाकिने गरी बाटोको दुवैपट्टिका बुट्यान र पोथ्रा एकअर्कासँग जोडिन्छन् । हावाले हल्लाएर त्यस्तो भएको हो भनौं भने हावा चलेको पनि छैन । हावा नै चलेको भए पनि सबैतिरका रूख र बुट्यानमा त्यसको प्रभाव पर्नुपर्ने हो ।

फेरि सोचें, यी मान्छे मभन्दा बढी हतारोमा रहेछन् । कहाँबाट आएका हुन् कुन्नि ? दिसा बस्न खिम्ती खोला नै आइपुग्नु परेछ यिनीलाई ।

तर आश्चर्य, अलिक अगाडि पुगेपछि ती मान्छे देखिएनन् । दिमागले फेरि अर्को धार पक्ड्यो- पिसाबले च्याप्यो होला । अघि सो मान्छे देखेको स्थानमा पुगें । तर पनि देखिनँ ।

आ.. जे होस् भन्दै अगाडि बढें । बाटोको दुवैतिर सालका रुख अनि केही अरू बिरुवाका पोथ्राहरू । सो स्थानमा एकपटक चितुवासँग जम्काभेट भएको छ मेरो । तर, दिन नआएर होला उसलाई चूपचाप बाटो छोडिदिएपछि ऊ पनि लमकलमक लस्कियो ।

तर त्यो समयमा अचम्मै भो । म अघि बढ्दैछु, तर म हिँड्ने बाटो ढाकिने गरी बाटोको दुवैपट्टिका बुट्यान र पोथ्रा एकअर्कासँग जोडिन्छन् । हावाले हल्लाएर त्यस्तो भएको हो भनौं भने हावा चलेको पनि छैन । हावा नै चलेको भए पनि सबैतिरका रूख र बुट्यानमा त्यसको प्रभाव पर्नुपर्ने हो । बाटोमै भएका रुखलाई मात्र असर नपर्नुपर्ने हो । जति मेरा पाइला अगाडि बढ्दै गए, म हिँड्दै गरेका बाटोका रुखहरू जोडिने र फुस्किने उपक्रम चली नै रह्यो । २० मिनेटको त्यो उकालोले यस पटक मलाई धेरै नै थकायो । मुटुसँगै गोडा पनि छिटो चलेछन् ।

लामाटारमा बाटोको एकापट्टि वर र अर्कोपट्टि झ्याम्म परेको पीपलको बोट थियो । जब म त्यहाँ पुगें । वर र पीपलका बोटहरू पनि जोडिँदै फुस्किँदै पो गर्दैछन् । पछि अन्त्यमा फेरि आकाश गर्जे जस्तो ठूलो आवाज आयो अनि त्यो आवाज खिम्ती खोलातिरै झर्‍यो ।

लामाटारभन्दा माथि त्यस्तो केही भोग्नुपरेन । बन्चरे रिसालको घरछेउको धारोमा पुगेर मुख धोएँ, जनै मन्तरें अनि केही समय आराम गरें । विस्तारै चराहरू पनि कराउन लागिसकेका थिए ।

बेताली मास्टर बाको घरमा पुग्दा मास्टर्नी आमा भर्खर उठ्नुभएको रहेछ । किन राति नै हिँडेको भनेर गाली खाइएला भन्ने मनमा परिरहेको थियो । नभन्दै के बाँकी राख्नुहुन्थ्यो र उहाँले । त्यसपछि मास्टर बाको गाली । भाइ कृष्णले समेत मलाई गाली गर्न बाँकी राखेन ।

(स्वर्गीय माधव पोखरेलले आफ्ना छोरा उमेश पोखरेलसँग आफू जीवित रहँदै गरेको कुराकानीको आधारमा यो संस्मरण ब्लग तयार भएको हो । -सं.)


प्रतिक्रिया

One thought on “अनि वर र पीपलका बोट जोडिए

  1. आदरणीय मामा! शाहसी, आँटिलो हुनुहुन्थ्यो🤔🤔 मामाको बेताली बन्चरे त उहाँको दैनिकी नै थियो। उहाँसँग उमेश र म पनि बेताली गएका छौँ। मलाई लाग्छ, बेताली सम्म मालूबाट पाँच किमी मात्र छैन। बाटो खाँदिएको हुनाले। उहाँले यो यात्रामा धेरै कष्ट भोग्नुभयो होला। जे हो उहाँले बोलेजस्तै हो। सायद उहाँलाई त्यो रूख जोडिने र छुट्टटिने हुँदा तर्साएको थियो।🤔🤔🙄🙄 तर्साउँदा त्यो बेलामा घटना क्रम देखिन्छ र सुनिन्छ, त्यो साँच्चै जस्तो लाग्छ। हाम्रो मानसपटलले स्वभाविक कृयाकलाप देखिरहेको सुनिरहेको छु भन्ने ठम्याउँछ। 🤔मामा प्रति हार्दिक श्रद्धाशुमन🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर