सुनवल नगरपालिकामा एमालेबाट निर्वाचित मेयर-उपमेयरको विवाद छताछुल्ल – Nepal Press

सुनवल नगरपालिकामा एमालेबाट निर्वाचित मेयर-उपमेयरको विवाद छताछुल्ल

मेयरका निर्णय उल्टाउन उपमेयरको हस्ताक्षर, कार्यकारी प्रमुख तानिए विवादमा

रुपन्देही । नवलपरासीको सुनवल नगरपालिकामा मेयर विमला अर्याल र उपमेयर सूर्यप्रसाद दुवे नेकपा एमालेबाट निर्वाचित भएका हुन् । तर पछिल्लो समय उनीहरूको विवाद बढेर एक अर्कालाई असहयोग गर्ने मात्रै नभई एकको निर्णय अर्कोले उल्टाउन हस्ताक्षर संकलनसम्म पुगेको छ ।

मेयर अर्यालले उपमेयर दुवेलाई नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसँग मिलेर आफूलाई असहयोग गरेको, पालिकामा भएका निर्णयअनुसार काम नगरेको, आफ्नो जिम्मेवारी अनुसारका काम नगरेको जस्ता गम्भीर आरोप लगाएकी छन् भने उपमेयर दुवेले मेयरले अरूको अस्तित्व स्वीकार नगरी एकल निर्णय गरेको, कार्यसम्पादनमा कुनै चासो नदिएकोजस्ता आरोप लगाएका छन् ।

उनीहरूको पछिल्लो विवाद यहाँको प्रमुख कार्यकारी अधिकृतको सरुवा र थमौतीको विषयले अझै झांगिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सरुवा र थमौतीको विषयमा मेयर/उपमेयरबीचको टकराब बढेको हो । मेयर अर्याल मरासिनीको थमौतीको पक्षमा छन् भने उपमेयर सूर्य दुवे सरुवाको पक्षमा छन् । मरासिनीको सरुवा रोक्न अर्यालले कार्यपालिकाबाट निर्णय गराएकी छन् भने उपमेयरले उनको सरुवा गर्न अन्य वडाध्यक्षसहितको हस्ताक्षर बुझाएका छन् ।

दुबै जना एमालेबाट निर्वाचित भए पनि कार्यसम्पादनको विषयमा खटपट पहिलेबाट भएको कार्यपालिका सदस्य र कर्मचारीको भनाइ छ । नगरपालिकाको अधिकांश काम कारबाहीको विषयलाई लिएर मेयर र उपमेयरबीच टकराब हुँदै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको काम कारबाहीप्रति नगर क्षेत्रका राजनीतिक दल र केही कर्मचारीहरूको असन्तुष्टि बढेको गुनासोपछि प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई मन्त्रालयले दुई पटकसम्म सरुवा गरेको थियो ।

दुवै पटक भएको सरुवालाई मेयर अर्यालले थमौती गरेकी हुन् । पछिल्लो पटक उपमेयरकै अगुवाइमा केही कार्यपालिका सदस्यहरू प्रमुख प्रशासकीय अधिकृतको सरुवामा लागेका छन् ।

मेयर र उपमेयर दुवैले सरुवा र थमौतीको विषयमा आफू पक्षीय कार्यपालिकाका सदस्यहरूको बैठक बसालेर छुट्टाछुट्टै निर्णयसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रसमेत पठाएका छन् ।

मेयर र उपमेयरले सरुवा र थमौतीको विषयमा राखेको बैठकमा सहभागी केही कार्यपालिका सदस्यले भने दुवैतिर हस्ताक्षर गरेका छन् ।

उपमेयर दुवेसहितका केही कार्यपालिकाका सदस्यहरूले हस्ताक्षर गरी सरुवा हुनुपर्ने कारण राखेर मन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘प्रशासकीय अधिकृतको काम कारबाहीले जनप्रतिनिधिहरूको मानमर्दन हुँदा लज्जित हुन परेको,प्रशासनिक विकृतिहरू मौलाउँदै गएको, साधन स्रोतको चरम दुरुपयोग भएको र सुनवलको स्थानीय सरकारलाई भ्रष्टचाररहित बनाउनका लागि पनि प्रमुख प्रशासकीय अधिकृतको तत्काल सरुवा गरी योग्य, पेशागत, नैतिकता भएको, इमान्दार र कर्तव्यनिष्ठ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पत्रमा अनुरोध गरिएको छ ।’

उपमेयर दुवेले एक महिनाअघि सरुवाको पत्र मन्त्रीसमक्ष बुझाएको चाल पाएपछि मेयर अर्यालले कार्यपालिकाको बैठक बोलाएर थमौतीका लागि पुनः मन्त्रालयमा पत्र पठाएकी हुन् ।

मेयर अर्यालले पठाएको पत्रमा भनिएको छ, ‘अघिल्लो आवको तुलनामा आव२०७९/०८० मा भौतिक र वित्तीय प्रगति राम्रो रहेको,सुशासन तथा सेवा प्रभावमा उल्लेखनीय सुधार भएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत आएको एक वर्ष मात्र भएको र निजको कार्य सम्पादनको स्तरसमेत राम्रो रहेकाले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई नै आव २०८०/०८१ मा सुनवलबाट अन्यत्र सरुवा नगरिदिन पत्रमा अनुरोध गरिएको छ ।

२०७९ भदौ १ गते नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई पहिलो पटक गत माघ महिनामा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सरुवा गरिएको थियो । त्यसै गरी दोस्रो पटक उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७९ चैत २२ गतेको निर्णयअनुसार भन्दै लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको थियो ।

पहिलो पटकको सरुवामा अर्का प्रमुख प्रशासकीय अधिकृत नआउँदै मेयर अर्यालले मन्त्रालय पुगेर उनको थमौती गरेकी थिइन् । भने दोस्रो पटक भएको सरुवामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका रमेश गौतमलाई मेयर अर्यालले हाजिर गर्न दिएकी थिइनन् ।

तर, गौतमले १८ दिन नगरपालिकामा हाजिर गरेका थिए । त्यसपछि मेयर अर्यालले राजनीतिक दबाबमा पुन मरासिनीलाई नै थमौती गराएकी थिइन् । उपमेयर दुवेले कार्यकारीको काम गर्ने व्यवहार र शैलीले समस्या पारेको र कानुन विपरीतका काम गर्न थालेकाले खबरदारी गरेको बताए ।

तर मेयर अर्यालले उपमेयरले कार्यकारीसँग खानपिन र लेनदेन नमिलेकैले यस्तो गरेको गम्भीर आरोप लगाइन् । अर्यालले भनिन्,‘ उहाँ यहाँ आएपछि कसरी कार्यसम्पादन भएको छ भन्ने तर रिपोर्टले देखाउँछ नि, मैले र कार्यकारीले कसरी कम खर्चमा चलाउने भन्ने योजना बनाएर काम गरेका छौँ, एक वर्ष अघि सरुवा भएर आएदेखि नै लाग्नुभएको हो, उपमेयरलाई खानपिन मिल्नेदेखि सबै कुरा मिलेको छैन त्यही भएर सरुवा गर्न लाग्नु भएको हो । यसरी हुँदैन काम गर्नेको मनोबल गिराउनुहुँदैन ।’

कार्यकारीमाथि हातपात र कार्यकारीको अभद्र बोली

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबीच विवाद बढ्दै गएपछि केही दिनयता यहाँ तनाव बढेको कर्मचारीहरू बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आफूमाथि जनप्रतिनिधिहरूले हातपात गरेको आरोप लगाउँदै आफूसँग पनि गुन्डाहरू भएको र तिनलाई बोलाएर ठेगान लगाउने चेतावनी दिएको अडियो सार्वजनिक भएको छ ।

गत बिहीबार जनप्रतिनिधिहरूले साउन १६ गते आफूहरूको जानकारीबिना भएको कार्यपालिकाको निर्णयप्रति माग गर्ने क्रममा वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच उपप्रमुखको कार्यकक्षमा चर्काचर्की भएको थियो ।

उपप्रमुख सूर्यप्रसाद दुवेको कार्यकक्षमा भएको छलफलका क्रममा विवाद भएपछि आक्रोशित हुँदै बाहिर निस्केका प्रमुख प्रशासकीय अधिकृत मरासिनीले वडा नं १२ का वडाध्यक्ष चूडामणि पौडेलले आफूमाथि हातपात गरेको बताउँदै भनेका छन्–‘मैले यसको के खाएको छु र यसले हात हाल्छ ? हातै हाल्नी कर्मचारीमाथि ? कसरी काम हुन्छ अब ?’

उनले उपप्रमुख सूर्य दुवेलाई लक्षित गर्दै कर्मचारीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । मरासिनीले आफूलाई उपप्रमुख दुवेले काम छ भनेर कार्यकक्षमा बोलाएको र दुर्व्यवहार गर्न लगाएको बताएका छन् । कार्यकक्षमा २ नं वडाध्यक्ष राजेन्द्र प्रसाद यादवले आफूलाई घचेटेको र १२ नं का वडाध्यक्ष पौडेलले हात समातेर बटार्दा हातै मर्केको बताए ।

उपप्रमुख सूर्य दुवेले भने गएको साउन १६ गते प्रमुख प्रशासकीय अधिकृत मरासिनीले उप प्रमुख, ४ जना वडाध्यक्ष र २ जना कार्यपालिका सदस्य समेत ७ जनालाई जानकारी नै नदिई कार्यपालिका बैठक बोलाएको विषयमा विवाद भएको बताए । कार्यकारी धेरै आवेशमा आएपछि बाहिर जान भनेको तर हातपात नभएको उनले बताए ।

नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद बगालेले सामान्य विषयमा भएको असामान्य व्यवहार दुवै पक्षलाई सहमतिमा राखेर मिलाएको बताए । सरुवाको कुरा त हामीले हेर्ने विषय भएन, यहाँ बाझिएका विषय बसेर मिलाउने काम भयो, दुवै पक्षले आवेशमा भनेका कुरा र व्यवहारहरूलाई क्षमा दिने गरी सहमति भएको छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर