युरोपमा नेपाली महिला फुटबलरले खेल्न सक्छन् भन्ने छाप छोड्नु छ: साम्बा – Nepal Press
नेपाल टक

युरोपमा नेपाली महिला फुटबलरले खेल्न सक्छन् भन्ने छाप छोड्नु छ: साम्बा

इजरायल । नेपाली महिला फुटबल स्टार सावित्रा भण्डारी (साम्बा) यतिबेला युरोपियन घरेलु लिग फुटबल खेलिरहेकी छन् । इजरायलको घरेलु लिगमा हालसम्म ५ गोल र १ असिस्ट गरेकी उनी आगामी दिनमा अन्य नेपाली खेलाडीलाई पनि युरोपको व्यवसायिक फुटबलमा ढोका खुलेको बताउँछिन् ।

घरेलु फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट करिअर सुरु गरेकी साम्बाले २०७१ सालमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेयता पछाडि फर्किएर हेर्नुपरेको छैन । व्यक्तिगत रुपमा आफूले पाएको सफलताले जति खुशी छन्, देशलाई कुनै पनि च्याम्पियनसिपको ट्रफी दिलाउन नसक्दा त्यति नै दुःखी पनि छन् उनी ।

राज्यले खेलाडीमाथिको लगानी बढाउने, नियमित राष्ट्रिय लिग र प्रतियोगिता हुने हो भने नेपाली महिला फुटबलले ठूलो फड्को मार्ने उनको विश्वास छ । इजरायली क्लब हापोएल रानानाबाट व्यवसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी अर्थात साम्बासँग नेपालप्रेसकर्मी नीता राउतले गरेको कुराकानीः

– दक्षिण एसिया र इजरायलको व्यवसायिक महिला फुटबलमा के फरक पाउनुभयो ?

दक्षिण एसियाको व्यवसायिक महिला फुटबलमा अलिकति राम्रो भनेको भारतको हो । उनीहरुले व्यवस्थित लिग गर्दैछन् । अब आउने सिजनदेखि लगभग होम एण्ड अवे गरेर ६ महिनासम्म सञ्चालन गर्ने कुरा छ । इजरायलको लिग लगभग ९ देखि १० महिना लामो हुन्छ । डबल लिग राउन्ड रोबिन र होम एन्ड अवेमा सञ्चालन हुन्छ । यहाँको लिग फुटबल युरोपियन मापदण्डभित्र पर्छ । त्यसले गर्दा उनीहरुको लिगको स्तर राम्रो छ । एकदुई वटा टीम नराम्रो भए पनि ओभरअल सबै टीम राम्रो छ । अनि गेम खेलाउने शैलीसहित टेक्निकल व्यवस्थापन सबै स्तरीय छ ।

– तपाईंको आबद्धताका विषयमा युरोपियन खेलाडीहरु के भन्छन् ? नेपालबारे उनीहरुको बुझाइ के रहेछ ?

म आवद्व भएपछि साउथ एसियामा कस्तो छ फुटवल भनेर उनीहरुले पनि बुझ्न चासो लिएका छन् । अब हाम्रो क्लबमा मात्र तीन जना यूएस युनिभर्सिटीका प्लेअर हुनुहुन्छ । उहाँहरु पनि इन्ट्रेस्टेड हुनुहुन्छ । यताको लिग राम्रो भयो भने एसियाबाट खेलाडीको माग बढ्नसक्छ । एसियाली खेलाडीहरु अरु पनि त्यहाँ रहेकाले त्यहाँको लिग फुटबल पक्कै पनि राम्रो होला भन्ने उहाँहरुको बुझाइ छ ।

– नेपालले अझै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । यहाँसम्म आइपुग्दा तपाईंको करियरमा के के कुराहरु मिस भइरहेको छ ?

म फुटबल खेलेर यहाँसम्म आइपुग्दा व्यक्तिगत रुपमा हरेक कुरा पाइसकेको छु । साउथ एसिया रिजनमा मैले आफूलाई प्रमाणित गर्न पाएँ । त्यसपछि नेपालमा पाएँ । अहिले युरोपको घरेलु लिग खेल्ने एउटा अवसर छ, त्यसलाई सदुपयोग गर्नेछु । साउथ एसिया रिजनमा हामी प्रतियोगिता भनेको एउटामात्र साफ च्याम्पियनसिप खेल्छौं र नेपाललाई आजसम्म कुनै ट्रफी दिन सकेका छैनौं ।

नयाँ जेनेरेसनका लागि युरोपमा पनि हाम्रा नेपाली महिला फुटबलरहरु खेल्न सक्छन् भन्ने छाप छोड्न मैले सक्नुपर्छ र त्यसैका लागि म यहाँ आएकी हुँ । भोलिका दिनमा परिणाममा खासै वास्ता छैन मलाई ।

नेपाली फुटबल फ्यानहरुको हामीले गोल्ड मेडल लगाएको हेर्ने रहर र इच्छा छ । त्यसमा उहाँहरुभन्दा बढी हामी खेलाडीहरु भोका छौं । आजको दिनमा मिस भएको भनेकै साउथ एसियामा हामी च्याम्पियन हौं भनेर प्रमाणित गर्न सकिरहेका छैनौं । त्यही कुरा सबैभन्दा बढी मिस हुन्छ ।

– अन्तर्राष्ट्रिय व्यवसायिक फुटबलमा आफूबाहेक नेपाली महिला फुटबल खेलाडीको सम्भावना के देख्नुहुन्छ, त्यस्ता खेलाडी को को छन् ?

नेपाली महिला फुटबलरको सम्भावना छैन भन्ने होइन । त्यो सम्भावनाका ढोकाहरु आफैंले नै खोल्ने हो । अहिले जति पनि बाहिर इभन, साउथ एसिया रिजनमा मैले आफूले जुन प्रमाणित गरें, भारतको व्यवसायिक फुटबलमा मैले गतिलो छाप छोडेको छु । हाम्रो नेपाली खेलाडीको गेम प्रायः सबैको राम्रो छ । खासगरी योङ जेनेरेसनका प्लेअरहरु सबै राम्रा छन् । पहिला अनु दिदी र ममात्रै व्यवसायिक फुटबलका लागि बाहिर हुन्थ्यौं भने पछिल्लो समयमा भारतको लिग फुटबलमा मात्र नेपालबाट ६ जना छौं । अहिले म यहाँ आइपुगेको छु ।

नयाँ जेनेरेसनका लागि युरोपमा पनि हाम्रा नेपाली महिला फुटबलरहरु खेल्न सक्छन् भन्ने छाप छोड्न मैले सक्नुपर्छ र त्यसैका लागि म यहाँ आएकी हुँ । भोलिका दिनमा परिणाममा खासै वास्ता छैन मलाई । तर, आफ्नो करिअरको जुन महत्त्वपूर्ण प्वाइन्टमा छु, यतिबेला एउटा तार्गेट छ मेरो । त्यो भनेको, आउने पुस्ताका लागि पनि मैले यो ढोका खोल्नुपर्छ । किनभने युरोपमा महिला फुटबलरको सम्भावना राम्रो छ ।

नेपालमा खेलेर केही गर्न सक्छु भन्ने आधारहरु अहिले ठ्याक्कै छैन । त्यसले गर्दा पनि अहिले सम्बन्धित निकायले पर्याप्त मात्रामा खेल गराइदिनुभयो, अन्तर्राष्ट्रिय खेल एक्सपोजर गराइदिनुभयो र उमेर समूहका जति पनि प्रतियोगिता हुनुपर्ने हो त्यो भइदियो भने असम्भव भन्ने केही छैन । यी कुराहरुलाई ध्यानमा राख्न सक्नुपर्छ ।

– नेपालमा महिला खेलाडीहरु आर्थिक रुपमा कमजोर छन् । कतिको गाह्रो छ उहाँहरुलाई ? फुटबलमा टिकाइराख्न कस्तो योजना राज्यले अगाडि सार्नुपर्छ ?

नेपालमा महिला फुटबलरको आर्थिक अवस्था एकदमै नाजुक छ । उनीहरुलाई टिकिराख्न समस्या छ । तर, कुनै योजना देखिँदैन । कस्तो भने हामी विकट ठाउँबाट, मध्यम वर्गको परिवारबाट हुर्केर यो ठाउँसम्म आइपुग्दा नेपाली महिला खेलाडीहरुसँग लगाउने बुट हुँदैन, जर्सी हुँदैन । हरेक कुराहरुमा समस्या हुन्छ । जस्तो, हामी ग्रामीण भेगबाट आइरहेका छौं र ग्रामीण भेगमा हुर्किएको रहनसहन र व्यवसायिक फुटबल खेलिरहँदाको अवस्था एकदमै फरक हुन्छ । आर्थिक रुपमा कमजोर भएपछि मनोबल गिर्ने, भोलि केही गर्न सक्दिनँ कि भन्ने सबैमा हुन्छ । ममा पनि थियो र अहिले कतिपय महिला फुटबल खेलाडीमा यो एकदमै बढी छ ।

यस्ता कुराहरुलाई हामीले आत्मसात गर्दै अगाडि बढिरहेका छौं । कतिपय पहिलाको सिनियर खेलाडीहरुले किट्स किन्न नसकेर पनि फुटबल छोड्नुभयो होला । नेपालमा खेलेर केही गर्न सक्छु भन्ने आधारहरु अहिले ठ्याक्कै छैन । त्यसले गर्दा पनि अहिले सम्बन्धित निकायले पर्याप्त मात्रामा खेल गराइदिनुभयो, अन्तर्राष्ट्रिय खेल एक्सपोजर गराइदिनुभयो र उमेर समूहका जति पनि प्रतियोगिता हुनुपर्ने हो त्यो भइदियो भने असम्भव भन्ने केही छैन । यी कुराहरुलाई ध्यानमा राख्न सक्नुपर्छ ।

– नेपाली पुरुष खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । यो देख्दा कस्तो लाग्छ ?

नेपालमा पुरुष खेलाडीहरु विदेशिने क्रम जारी छ । त्यो आगामी दिनमा पनि भइरहन्छ जस्तो लाग्छ मलाई । नेपालमा व्यवसायिक फुटबलका लागि राम्रो लिग व्यवस्थापन छैन । त्यसले गर्दा पनि उहाँहरु विदेशिनु भएको छ । जति पनि अहिले विदेशिनु भएको छ, आफू र परिवारलाई सँगै लिएर अगाडि बढ्नुपर्ने भएकाले उहाँहरुले उज्ज्वल भविष्यका लागि अष्ट्रेलिया जस्तो राम्रो देश छान्नु भएको होला । त्यहाँ गएर पनि उहाँहरु खेलिराख्नु भएको छ ।

जति पनि विदेशिनु भएको छ, त्यो मुख्य कारण चाहिँ नेपालमा व्यवसायिक फुटबलका लागि व्यवस्थित लिग छैन । हुनुपर्ने प्रतियोगिता नभइदिने र खेलाडीलाई टिकाइराख्ने नीति नियमहरु नभएका कारणले पनि अहिले दाइहरु विदेशिनु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर