त्रिवि भूगोल केन्द्रीय विभागमा डेटा विश्लेषण र वैज्ञानिक पेपर लेखन तालिम सुरु – Nepal Press

त्रिवि भूगोल केन्द्रीय विभागमा डेटा विश्लेषण र वैज्ञानिक पेपर लेखन तालिम सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले डेटा विश्लेषण र वैज्ञानिक पेपर लेखनसम्बन्धी सात दिने क्षमता अभिवृद्धि प्रशिक्षण सञ्चालन गरेको छ । काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशनको सहयोगमा विश्वविद्यालयका युवा अनुसन्धानकर्ताहरुको क्षमता अभिवृद्धि र शैक्षिक उत्कृष्टता बढाउन तालिम सञ्चालन गरिएको हो ।

तालिमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले ज्ञानको विकास र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्याङ्क विश्लेषण र प्रभावकारी वैज्ञानिक पेपर लेखनको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले तालिमले अनुसन्धान प्रतिभा प्रस्फुटनमा गहिरो नतिजा ल्याउने आशा व्यक्त गरे ।

नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासका काउन्सिलर वाङ जिनले नेपाल र चीन आपसी मित्रताको सम्बन्ध कायम राख्ने र दुवै देशका विश्वविद्यालयले वैज्ञानिक सीप र ज्ञान प्रदान गर्न सहकार्य र व्यापक अनुसन्धान गरिरहेको बताए ।

उनले शैक्षिक प्रयासमा विश्वव्यापी सहयोग र शिक्षाको क्षेत्रमा नेपाल र चीनबीचको बलियो सम्बन्धलाई प्रकाश पारेका थिए ।

नेपाल र अन्य विश्वविद्यालयमा शिक्षा र अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको तालिमको अध्यक्षता भूगोल केन्द्रीय विभागका प्रमुख प्रा.डा.उमेशकुमार मण्डलले गरेका थिए । उक्त अवसरमा उनले आगामी दिनमा पनि नेपाल र चीनबीच अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा थप सहकार्य र सहयोग अपरिहार्य रहेको बताए ।

विभागले आफ्नो भौगोलिक सूचना प्रणाली केन्द्र स्थापना गरिसकेको र वैज्ञानिक अनुसन्धानलाई थप जोड दिने उनको भनाइ छ ।

काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशनका कार्यकारी निर्देशक डा. ताओ वाङले केन्द्रले वैज्ञानिक अनुसन्धान र तालिम प्रवर्द्धन गर्न हासिल गरेको महत्वपूर्ण उपलब्धिमाथि प्रकाश पारे ।

एन्सोका कार्यकारी निर्देशक प्रा. काओ जिङ्हुआले चीनबाट अनलाइनमार्फत आफ्नो भनाइ राख्दै साझा भविष्य र उच्च गुणस्तरको विकासका लागि मिलेर काम गर्न जोड दिए । उनले नेपाली अनुसन्धानकर्ताहरुले न्यून शुल्कमा पनि गुणस्तरीय अनुसन्धान गरिरहेको भन्दै जलवायु परिवर्तनका ठूला असरबारे सचेत गराउन वैज्ञानिक समुदायले ऐतिहासिक जिम्मेवारी बहन गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुसाल, मानविकी तथा सामाजिक विज्ञान संकायका डीन प्रा. डा. कुसुम शाक्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा. डा. विनिल अर्याललगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *