कान्तिमा बालिका मृत्यु प्रकरण: दोषीमाथि कारबाही नगरिए आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी – Nepal Press

कान्तिमा बालिका मृत्यु प्रकरण: दोषीमाथि कारबाही नगरिए आन्दोलन गर्ने अनेरास्ववियूको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भएको उक्त घटनाको मुख्य दोषी अस्पताल प्रशासन रहेको प्रारम्भिक घटनाक्रमले देखाएको दाबी गरेको छ ।

उक्त समयमा अस्पतालमा कार्यरत कर्मचारीको पहिचान गरी अविलम्ब कारबाही गरिनुपर्ने र पीडित बालिकाका परिवारलाई राज्यले क्षतिपूर्तिसहित न्याय दिनुका साथै सरकारले अस्पतालको सेवा प्रवाहमा विशेष कदम चाल्नुपर्ने संगठनका अध्यक्ष आरती लामाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्यतथ्य छानबिन तथा यथाशीघ्र दोषीलाई कारबाही नगरिए चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुनेसमेत जानकारी गराउँछौं ।’

अस्पताल प्रशासनको लापरबाहीले सरकारका संवेदनशील अंगको वास्तविकता उजागर गरेको पनि अनेरास्ववियुले जनाएको छ ।

‘कान्ति बाल अस्पताल जस्तो देशकै प्रतिष्ठित स्वास्थ्य संस्थामा यस्तो लापरबाही हुनु र त्यसै कारणबाट बालिकाको ज्यान जानु वास्तवमै गम्भीर विषय हो । संविधानले समाजवादलाई हाम्रो राज्य प्रणालीको मोडेल सुनिश्चित गरिसकेको अवस्थामा स्वास्थ्य जस्तो अति संवेदनशील विषयप्रति खेलवाड गरिनुलाई कुनै कोणबाट पनि स्वीकार गर्न सकिन्न’, विज्ञपित्मा भनिएको छ ।

भदौ १८ गते कान्ति बाल अस्पतालको लापरबाहीका कारण दुई घन्टासम्म इमर्जेन्सी वार्डमा उपचार नपाइ ५ वर्षीया रेजिशा गोपालीको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर