सार्वजनिक लेखा समितिमा योगेशको प्रस्ताव- दलहरूको पनि हिसाबकिताब हेर्नुपर्छ (भिडिओ) – Nepal Press

सार्वजनिक लेखा समितिमा योगेशको प्रस्ताव- दलहरूको पनि हिसाबकिताब हेर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूको पनि हिसाबकिताब हेर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा उनले दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताएका हुन् । राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी राजनीतिक पार्टीहरूलाई पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा भट्टराईको जोड थियो ।

दलको खर्चको स्रोत, पार्टी सञ्चालन खर्च हेर्नुपर्ने उनको भनाइ छ । जसको कार्यकालमा भ्रष्टाचार वृद्धि छ, बेरुजु फर्च्छ्यौट छैन, आर्थिक अनियमितता छ भनेपनि सरकारले त्यस्तो व्यक्तिलाई अख्तियारमा, निर्वाचन आयोगलगायतमा नियुक्ति गर्ने गरेको भन्दै त्यस्तो गर्न नहुने भट्टराईले बताएका छन् । यस्ता विषयमा पनि समितिले कानूनीरूपमा जवाफदेहिता खोज्ने काम गर्न आवश्यक रहेको उनले औंल्याए ।

भट्टराईले भने, ‘सार्वजनिक लेखा समितिमा आएका सदस्यहरु सबै विभिन्न राजनीतिक दलहरुबाट आएका छौं । नेपाली राजनीतिक पार्टीहरु कसरी चलेका छन् । दलहरुको काम कस्तो छ भन्ने आधारमा यो कुरा हेरिन्छ । त्यसैले सरकारले राजनीतिक दलसम्बन्धी ऐन पनि संशोधन गरेर आउन थालेको छ । त्यसमा विशेषगरी समितिले राष्ट्रिय मान्यता प्राप्त पार्टीहरूको लेखा पनि हेर्नुपर्छ । राजनीतिक दलको स्रोत कहाँबाट आएको छ । खर्च प्रणाली के भएको छ ,कहाँबाट चलेको छ हेर्नुपर्छ । अर्को सम्बन्धित दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्ने/नबन्ने, टिकट दिने/नदिने सम्बन्धित दलले निर्णय गर्ने भन्ने हुन्छ । दलमा काम गरेपछि त्यो व्यक्तिले गरेको कामको प्रतिवेदन दललाई बुझाउनुपर्छ । त्यो भएमात्रै त्यो व्यक्ति कति पारदर्शी छ भन्ने कुरा थाहा हुन्छ ।’

लेखा सुशासनसँग जोडिएको समिति भएकाले आवश्यक परे कारबाही गर्नेसम्मको सिफारिस र निर्देशन दिइनुपर्ने उनको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर