प्रदेश संरचनापछि एमाले लुम्बिनीः इतिहासमा जोडियो ओनसरीको नाम, अधिवेशन नहुँदै बने ४ अध्यक्ष – Nepal Press

प्रदेश संरचनापछि एमाले लुम्बिनीः इतिहासमा जोडियो ओनसरीको नाम, अधिवेशन नहुँदै बने ४ अध्यक्ष

रुपन्देही । प्रादेशिक संरचनासागै नेकपा एमालेले पार्टीको बलियो आधार क्षेत्र मानिएको लुम्बिनीमा विभिन्न व्यक्तिको नेतृत्वको अभ्यास गरेको छ । पहिलो अधिवेशनको संघारमा रहेको लुम्बिनीमा यसअघि तीनजनाले कमाण्ड सम्हालिसकेका छन् । प्रादेशिक संरचनापछि माओवादी केन्द्रसँगको पार्टी एकता र पछि सर्वोच्चको फैसलापछि विभाजन, त्यसपछिका निर्वाचनका कारण अहिलेसम्म अधिवेशन गर्न नसकेको नेताहरू बताउँछन् ।

एमालेले प्रादेशिक संरचनामा सबैभन्दा पहिले अहिलेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जिम्मेवारी दिएको थियो । २०७३ कात्तिक १४ गते (साविक प्रदेश नं. ५) मा नेता पौडेलको संयोजकत्वमा ८३ सदस्य रहेको कमिटी नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीको गठन गरिएको एमाले प्रदेश कार्यालयले जनाएको छ । पहिलो अभ्यास भएकोले र तत्कालीन तीनवटा अञ्चलमध्ये लुम्बिनीका ६, राप्तीका ४ र भेरीका २ गरी १२ जिल्लामा नेता पौडेलको अगुवाइमा संगठन निर्माण र पार्टी संरचनाको काम अगाडि बढेको थियो ।

नेकपा एमालेका उपमहासचिव रहँदै पौडेल लुम्बिनीसँगै पार्टीको केन्द्रमा ध्यान दिएका थिए । ०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच एउटै घोषणापत्रमा चुनाव लड्ने र पार्टी एकता गर्नेसम्मको सहमति अगाडि बढेपछि यसको समन्वयमा नेता पौडेलले अगुवाइ गरेका थिए ।

२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । दुई दलको सहमतिअनुसार एकतापछि साविकका दुवै पार्टी कमिटीलाई एक बनाउन गठित कार्यदलको निर्णय सिफारिस र केन्द्रको निर्णय अनुमोदनपश्चात् लुम्बिनीमा माओवादीका तर्फबाट नेतृत्व पाउने सहमतिअनुसार नेतृ ओनसरी घर्तीको नेतृत्वमा २०६ सदस्य तत्कालीन ५ नं. प्रदेश संगठन कमिटी गठन भएको थियो । नेकपाकालमा घर्तीले प्रदेशको मुख्य जिम्मेवारी सम्हालिन् र एमाले तथा माओवादीका नेता-कार्यकर्तालाई परिचालन गरिन् ।

२०७७ फाल्गुण २३ गते सर्वोच्च अदालतले २०७५ जेठ २ कै अवस्थामा अर्थात् साविकको आ-आफ्ना पार्टी स्थापित हुने गरी भएको फैसला गरिदिएपछि नेकपामा रहेका धेरै माओवादीका नेताहरु पुरानै घरमा गए भने केही प्रतिशत नेताहरु एमाले नै रोजेर बसे । नेतृ घर्ती माओवादीमै लागेपछि नेकपा एमालेले लुम्बिनी प्रदेश संगठन कमिटी लिला गिरीको नेतृत्वमा पुनर्गठन गरेको थियो ।

२०७८ मंसिर १०-१२ गते चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि गिरी पोलिटब्यूरो सदस्य बने र केन्द्रीय कमिटीको पहिलो बैठकबाट पार्टीको लुम्बिनी प्रदेश संगठन कमिटीको अध्यक्षमा राधाकृष्ण कंडेलको नेतृत्वमा नयाँ कमिटी गठन गर्‍यो । उनी त्यो समयमा केन्द्रीय सदस्यका दावेदार भएकाले व्यवस्थापनका लागि प्रदेश अध्यक्ष बनाइएको नेताहरु बताउँछन् । त्यो कमिटीको उपाध्यक्ष, सचिव र उपसचिवहरुमा क्रमशः भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लिला राना र दुर्गाप्रसाद थारुसहित ५ सय ७६ सदस्यीय कमिटी रहेको छ ।

त्यो कमिटीले अहिलेसम्म काम गरिरहेको र १६ र १७ गते पहिलो अधिवेशनको आयोजना गर्दैछ । प्रादेशिक संरचनामा गएपछि पनि लामो समय प्रदेशको अधिवेशन नगराएको आलोचना खेपेको एमालेले यो बीचमा विभिन्न पार्टीबाट एमाले प्रवेश गर्ने, पार्टीमा विभिन्न जिम्मेवारीमा नरेहका र केही नेताहरु निकटलाई थामथुम पार्न प्रदेश कमिटी सदस्य थप्दै गएको थियो । झण्डै ६ सय संख्यामा रहेको प्रदेश कमिटीलाई चुस्त बनाउन र सबै क्षेत्रगत उम्मेदारहरुलाई समेट्न २ सय ५ सदस्य प्रदेश कमिटी बनाइएको एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् ।

एमाले केन्द्रीय पदाधिकारीमा यहाँबाट दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, तीन सचिवसहित ७ जना रहेका छन् । प्रदेशबाट केन्द्रीय कमिटीमा झण्डै ६० जना पुगेका छन् । अहिले प्रदेश बाहिर गण्डकीबाट प्रतिनिधित्व गर्ने अर्याल यहाँको इन्चार्ज रहेकी छन् ।

१२ जिल्ला रहेको प्रदेशमा २६ संघीयमध्ये ११ तथा ५२ प्रदेश सांसदमध्ये १८ क्षेत्रमा जितेर एमाले पहिलो दल बनेको छ । एमालेविरुद्ध ५ दलको बलियो गठबन्धनका कारण पनि एमालेले निकालेको जितका कारण यहाँ पार्टी नेताहरुले जस लिने होडबाजी चलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर