एसिया कपमा पाकिस्तानसँग नेपाल भिड्नुअघि पारसको स्टाटस- यो मन त मेरो नेपाली हो – Nepal Press

एसिया कपमा पाकिस्तानसँग नेपाल भिड्नुअघि पारसको स्टाटस- यो मन त मेरो नेपाली हो

काठमाडौं। एसिया कप क्रिकेटमा नेपालको सहभागितालाई लिएर राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का सामाजिक सञ्जालमार्फत उत्साही देखिएका छन् ।

बुधवार प्रतियोगितामा सहभागी हुन लागेका ६ देशका कप्तानलाई राखेर एसियाली क्रिकेट काउन्सिलले बनाएको ‘पोस्टर’ सेयर गर्दै लेखेका छन्, ‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ।’

त्यसमा उनले टर्निङ ड्रिम इन्टु रियालिटी अर्थात् सपना वास्तविकतामा परिणत हुँदै भन्ने ह्यासट्याग प्रयोग गरेका छन् ।

पारसले दुई वर्षअघि खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका थिए । त्यसयता नेपालले कठिन यात्रा पार गर्दै चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ भने एसीसी प्रिमियर कप जितेर एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा स्थान बनाएको हो ।

नेपाल पहिलो पटक एसिया कप खेल्न लागेको हो। त्यसमा पनि नेपालले पहिलो चरणमै विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्दै छ। बुधवार अपराह्न नेपालले पाकिस्तानसँग खेल्दै छ ।

यसअघि पारसले मङ्गलवार साँझ पनि स्टाटस लेख्दै एसिया कप सहभागिता नेपालको क्रिकेट इतिहासकै सबैभन्दा ठुलो दिन भएको उल्लेख गरेका थिए ।

‘पूर्व क्रिकेटरका रूपमा यो सफलता र विगतको २५ वर्ष जुन चुनौती पार गरेर हामी यहाँ आइपुगेको छौँ, योभन्दा बढी गर्व गर्ने ठाउँ छैन’, पारसले लेखेका थिए, ‘नेपाली क्रिकेट टोलीले पहिल्यै मन जितिसकेको छ र आगामी दिनमा पनि यो कायम रहने अपेक्षा गर्छौँ ।’

यसअघि पारसकै कप्तानीमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेलेको थियो भने एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गरेको थियो। पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *