बागमतीमा डेंगुबाट ४ जनाको मृत्यु, करिब ४ हजार संक्रमित – Nepal Press

बागमतीमा डेंगुबाट ४ जनाको मृत्यु, करिब ४ हजार संक्रमित

हेटौंडा । लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमणबाट यो वर्ष बागमती प्रदेशमा ४ जनाले ज्यान गुमाएका छन् । यो वर्षको जनवरीबाट हालसम्म ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक/एक जनाको डेंगु सङ्क्रमणको कारण ज्यान गुमाएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो वर्ष जनवरीको पहिलो दिनबाट हालसम्म प्रदेशभरमा ३ हजार ९ सय २९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

यो वर्ष डेंगुको कारण डेंगुबाट ललितपुरस्थित इमाडोलकी ३८ वर्षीया महिला र थैवका ७१ वर्षीय पुरुषको ज्यान गएको छ भने मकवानपुरका ४१ बर्षीय पुरुष धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।

यो वर्ष बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमीत धादिङ जिल्लाको रहेको मन्त्रालयको भनाई छ । बागमतीका ३ हजार ९ सय २९ संक्रमित मध्य धादिङको मात्र २ हजार ५ सय ५३ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डाक्टर रविन भुसालका अनुसार यो वर्ष जनवरीबाट हालसम्म काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनातथा रसुवामा ६ जनामा डेंगु पुष्टि भएको भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको भएको देखिन्छ ।

मन्त्रालयले आफ्नो घर वरपरको पानी जम्ने स्थानलाई पुर्न, गमला सहितका अन्य पानी जम्ने भाँडाको पानीलाई खन्याउनको लागि आम नागरिकलाई अनुरोध गरेको छ । लामखुट्ेको लार्भा नष्ट गर्न सके लामखुट्टे उत्पादन नहुने र महामारी कम हुने भन्दै उनले डेंगुको विषयमा आम नागरिक आफैँ सचेत बन्नुपर्ने जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *