कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छः एमाले सांसद न्यौपाने – Nepal Press

कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छः एमाले सांसद न्यौपाने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाएकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्‍याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दुःखद् भएको समेत बताइन्। उनले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताइन् ।

सांसद न्यौपानेले भनिन, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरु सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरुको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सदभावमा खलल पुग्ने गरी जे गतिविधिहरु सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दुःखद् छ । आज कोशीमा पहिचानको नाममा जातीय सदभावमा खलल पुग्नेगरी गतिविधिहरु भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न भन्दा, जातीय सद्भाव कायम गर्न भन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरु आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरु भईराखेका छन् । त्यसैले म सचेत गराउन चाहन्छु–मिलेर बसेका नेपालीहरुलाई जातजातको नाममा लडाई गराएर यो देशलाई रुवाण्डा बनाउन हामी चाहँदैनौं । त्यसैले त्यसतर्फ सरकारको ध्यान जाओस् । वास्तवमा अहिले चर्चामा छ कोशी प्रदेश । यो संविधान जोगाउनका निम्ति गठबन्धन बनाएको भनेर दाबी गर्नेहरु धन्य छ गठबन्धन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *