लुम्बिनी बनाउने गरी काम गर्न उपाध्यक्ष लामाको निर्देशन – Nepal Press

लुम्बिनी बनाउने गरी काम गर्न उपाध्यक्ष लामाको निर्देशन

रुपन्देही । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्यार लामा (खेन्पो छिमे छिरिङ)ले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त उपाध्यक्षले विहीबार कार्यालयका कर्मचारीहरुसँग परिचय तथा भेटघाट कार्यक्रममा बुद्धजन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

उपाध्यक्ष लामाले विश्वका २ अर्ब बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो पवित्र स्थलको प्रचार प्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपर्नेमा जोड दिए । उनले कर्मचारीहरुको पेशागत सु्रक्षाका लागि आफूहरु लागिपर्ने बताउँदै संस्थाको काममा लापरवाही गरे कारवाही गर्ने बताए ।

नेपालको संविधान अनुसार बनेको ऐन, नियमावली, बिनियम, कार्यविधि, निर्देशिका र मापदण्ड अनुसार संस्थाको काम अघि बढाउने बताउँदै पदाधिकारी र कर्मचारीबीचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने लामाको प्रतिवद्धता गरे ।

उपाध्यक्ष लामाले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टिकोण परिवर्तन गर्ने गरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीहरुसँग आग्रह गरे । जसको जे काम हो, त्यो गर्नुपर्ने बताउँदै जिम्मेवारी अनुसार काम नहुने कर्मचारीहरुको मूल्यांकन हुने उनले बताए । संस्थागत सुशासन कायम गर्दै आर्थिक पारदर्शीता कायम गर्दै बाँकी रहेको गुरुयोजनाको कामलाई अघि बढाउने उपाध्यक्ष लामाको भनाइ छ ।

कार्यक्रममा कोषका सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतले बोल्दै विभिन्न बिषयहरुका बारेमा जानकारी दिए । उक्त अवसरमा उपाध्यक्ष समक्ष कर्मचारीहरुले कोषको वर्तमान अवस्था र कोषका विविध बिषयमा सुझावहरु पेश गरेका थिए । लामालाई साउन १६ गते बसेको मन्त्रिपरिषदले कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । उनले साउन २५ गते पदभार ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *