अधिकृतस्तरको ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय – Nepal Press

अधिकृतस्तरको ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्का दुई वटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निणर्य गरिएको बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालयका अन्तरगत नयाँ शहर आयोजना लगायतका निकायको आर्थिक वर्ष २०८०–०८२ का लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबारकै बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत निकायका लागि र चिकित्सा शिक्षा आयोगका लागि राजपत्रांकित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी गराईन ।

उनका अनुसार सोहि दिनको बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत आर्थिक वर्ष २०८०–०८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकिकृत भू–परिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

मन्त्री शर्माका अनुसार यस अघि साउन ३० गते बसेको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका लागि ५८ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

साउन ३० गतेकै बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालय अन्तरगत आर्थिक वर्ष २०८०–०८१ का लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र उक्त आयोजना अन्तरगत विकेन्द्रित आयोजना सहयोग इकाइका लागि आवश्यक १९ वटा राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताईन ।

यस्ता छन् मन्त्रिपरिषद्का दुई वटा बैठकले गरेका २९ वटा निर्णय

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *