इन्जुरी समयमा गोल गर्दै खेल बराबरी, टाइब्रेकर जित्दै यूएस ओपनको फाइनल पुग्यो मेस्सीको इन्टर मियामी – Nepal Press

इन्जुरी समयमा गोल गर्दै खेल बराबरी, टाइब्रेकर जित्दै यूएस ओपनको फाइनल पुग्यो मेस्सीको इन्टर मियामी

न्युयोर्क। शानदार पुनरागमन गर्दै लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कप फुटबलको फाइनल पुगेको छ।

बिहीबार बिहान भएको खेलमा मियामीले सिनसिनाटी एफसीलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्‍यो।

खेलमा २-० गोलले पछाडि परेको मियामीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याएर अतिरिक्त समयमा धकेलेको थियो।

अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल गरेका थिए। मियामीका सुरुवाती दुई गोल लियोनार्दो कम्पानाले गरेका थिए। दुवै गोलमा मेस्सीले असिस्ट गरेका थिए।

मेस्सी मियामीका लागि पहिलो पटक गोल गर्न असफल भए।

अघिल्ला सातवटै खेलमा उनले गोल गरेका थिए। गत साता मात्र मियामीले लिग्स कपको उपाधि जितेको थियो।

खेलमा सुरुवाती अग्रता सिनसिनाटीले १८ औँ मिनेटमा लिएको थियो। ५३ औँ मिनेटमा उसले अग्रता दोब्बर बनायो। तर कम्पनाले ६८ औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै मियामीको पुनरागमन प्रयास गरेका थिए।

दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा कम्पनाले मेसीकै पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

अतिरिक्त समय सुरु भएको तेस्रो मिनेटमै जोसेफ मार्टिनेजले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। तर एक सय १४ औँ मिनेटमा गोल गर्दै सिनसिनाटीले खेललाई टाइब्रेकरमा धकेलेको थियो।

सुरुका चार वटा प्रहारमा गोल गरेको सिनसिनाटीलाई पाँचौँ तथा अन्तिम प्रहारमा मियामीका गोलरक्षक कालेन्डरले निराश बनाए।

उनले उक्त प्रहार रोकेका थिए। सिनसिनाटी मेजर लिग सकर-एमएलएसको उपाधि दाबेदार क्लब हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर