अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको भेट – Nepal Press

अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरुसँग शिष्टाचार भेट गरेका छन् ।

जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबार स्थित सम्माननीय अध्यक्षज्यूको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा अध्यक्षले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिए ।

नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुर्याएको विश्वास व्यक्त गरे ।

उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिए ।

जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत देशहरुमध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको विकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी वर्षहरुमा जापानी लगानी बढ्ने आशा राखे ।

अन्तर व्यवस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिदैँ अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समूह छिट्टै गठन हुने जानकारी गराए ।

भेटमा जापान नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । नेपाल पनि जापानमा हुने ‘वल्र्ड एक्सपो २०२५, ओसाका, जापान’ मा सहभागी हुन लागेकोमा खुसी व्यक्त गर्दै त्यसले नेपालको पर्यटन, व्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले नेपाल जापान संसदीय मैत्री समूह छिटै गठन हुने आशा राख्दै मैत्री समूह मार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गने अपेक्षा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *